News

Feb 17, 2011

कम्वोडियामा एक नेपालीलाई जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कम्बोडियाको एक अदालतले एक नेपाली र दुई वंगलादेशीलाई आतंकवादी गतिविधिमा संलग्न रहेको ठहर गर्दै ८ वर्ष जेल चलान गर्न आदेश दिएको छ। उनीहरुलाई अदालतले आतंकवादविरुद्धको कानुन अनुसार सजाय तोकेको हो।चिनियाँ समाचार एजेन्सी सिन्ह्‍वाका अनुसार ४४ वर्षीय नेपाली डिपी पौडेललाई हिरासतबाट जेल चलान गरिएको छ। पौडेललाई गैर कानुनीरुपमा कम्बोडिया प्रवेश गरेको आरोपमा हिरासतमा राखिएको थियो। गत अप्रिलमा नोम पेन्हमा रहेका बेलायती, अमेरिकी र अस्ट्रेलियन राजदूतावासमा आक्रमण गर्ने धम्की दिने समूहले पठाएको पत्रमा उनको हस्ताक्षर फेला परेको दावी गरिएको छ। अलकायदाको सदस्यका रुपमा पत्र पठाइएको पहिचान भएको सिन्ह्‍वाले जनाएको छ। 'उनीहरुले आरोपको खण्डन गरेपनि त्यसलाई प्रमाणित गर्न सकेनन,' न्यायाधीश नोम पेन्ह म्युनिसिपल अदालतका न्यायाधीश सन विशालले भने। वंगलादेशी नागरिक ४२ वर्षीय रफिक इश्लामी र ६२ वर्षीय मिह मोहम्मद एच कविरलाई पनि यही आरोपमा सजाय सुनाइएको छ। उनीहरुले पुनरावेदनका लागि निवेदन दिने बताएका छन्। तीन दिन अघिमात्र अदालमा सुनुवाई हुँदा पौडेल आफूले कुनै अपराध नगरेको दावी गरेका थिए। 'यी राजदूतावासहरुविरुद्ध मैले कुनै पनि अपराधिक गतिविधि गरेको छैन,' उनले अदालतमा भनेका थिए, 'त्यसैले म अदालतलाई मेरो मुद्दा खारेज गरी मेरो मुलुक फर्किन पाउँ भन्ने निवेदन गर्छु।'

No comments: