News

Feb 12, 2011

संविधान लेख्न दबाब दिन वकिलले दिउँसै लालटिन बाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २८ - सभासद्लाई संविधान लेख्न दबाब दिन व्यङ्गस्वरुप वकिलहरुले शुक्रबार काठमाडौँमा मध्यदिनमै लालटिनको प्रकाशमा संविधान खोजी गरौं भन्ने कार्यक्रम आयोजना गरे । नेपाल बार एसोसियसनले आयोजना गरेको सो कार्यक्रममा वकिलहरुले दिउँसो १ : ३० बजे राता तीन, हरिया तीन र निलो रङको एउटा लालटिन प्रज्ज्लन गरी “लोकतान्त्रिक संविधान खोइ” भनी व्यङ्ग गरेका थिए । कार्यक्रममा सहभागी वक्ताले समयमै संविधान जारी गर्ने गरी सभासदले काम नगरेकाले तोकिएको समयावधिभित्रै संविधान बन्न नसकेको ठहर गरेका छन् । सभासद्हरुले आफ्नो जिम्मेवारी पुरा नगर्दा दिनमै रात जस्तो अवस्था सिर्जना भएकाले तलब र भत्तामा मात्र सीमित नरही जनआदेशअनुसार संविधान लेख्न दबाब दिन यो कार्यक्रम गरिएको आयोजकले बताए । देश, काल र परिस्थिति समेटेर संविधान बनाउनुपर्नेमा आ–आफ्नो पार्टीको एजेन्डामा ठूला दल लिप्त भएका कारण नै संविधान नआएको भन्दै उनीहरुले बाँकी रहेको समयभित्र संविधान नलेखे दलहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्का र महासचिव विजय मिश्र, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सिन्धुनाथ प्याकुरेल, सर्वज्ञरत्न तुलाधर, अधिवक्ता कृष्णप्रसाद सापकोटा र रामनारायण बिंडारीलगायत थिए ।

No comments: