News

Feb 25, 2011

फेसबुकमार्फत् रिस पोख्दा..प्रहरी नियन्त्रणमा .

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, फाल्गुन १३ - अपरिचितलाई फेसबुकमा राखिएका तस्बिरमा सहज पहुँच दिनुभएको छ ? अथवा आफ्ना तस्बिरहरू सामान्य चिनजानका व्यक्तिलाई पनि उपलब्ध गराउनुभएको छ ? छ भने सतर्क हुनुस् तपाईंको तस्बिर दुरुपयोग हुन सक्छ । यस्तै गतिविधिमा लागेका ललितपुरको ग्रामीण भेगका एक शिक्षक प्रहरी नियन्त्रणमा छन् । सहकर्मी र उनका परिवारका सदस्यको तस्बिर दुरुपयोग गरी रकम असुल्न खोजेको आरोपमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।ललितपुर प्रहरीका अनुसार सहकर्मीको फोटो दुरुपयोग गरी अश्लील बनाएको र धम्क्याएर रकम असुल्न खोजेको आरोपमा लुभु-८ शंखादेवीका सरोज केसी पक्राउ परेका हुन् । छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निकालिएका उनले 'फेसबुक' मार्फत् सहकर्मीमाथि आक्रोश पोखेको भेटिएको हो । ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले विद्यालयबाट निकालिएका शिक्षकले फोटोको दुरुपयोगमार्फत् साइबर अपराध गरेको अनुसन्धानबाट खुलेको बताए । 'छात्रालाई पटकपटक दुव्र्यवहार गर्ने केसीलाई ती शिक्षिकाले कारबाही गर्न सहयोग गरेकी रहिछन्,' उनले भने, 'आक्रोशमा आएका शिक्षकले उनको फोटो अश्लील बनाएर फेसबुकमा राखेको पुष्टि भएको छ ।'
विद्यालयबाट वनभोज जाने क्रममा केसीले खिचेको पीडित युवतीको फोटो पछि दुरुपयोग गरेको प्रहरीले जनाएको छ । बयानका क्रममा केसीले वनभोजको तस्बिर विद्यालयको कम्प्युटरमा रहेको र पछि आफूले लगेको स्वीकारेको प्रहरीले जनायो । प्रहरीका अनुसार 'फेक' आइडी बनाएर खोलिएको फेसबुक एकाउन्टमा उनले ती युवतीको अनुहार र नग्न तस्बिर जोडेर राखेका छन् । उनको चरित्र हत्या हुनेगरी अंग्रेजीमा अश्लील शब्द लेखेका छन् । इमेल र साथीहरूबाट जानकारी आएपछि पीडितले अश्लील तस्बिरबारे पत्ता पाएकी थिइन् । प्रहरीले पीडित युवती र अर्का शिक्षक तथा विद्यालयको नाम गोप्य राखेको छ ।
आफ्नो तस्बिर दुरुपयोग भएको थाहा पाएपछि पीडितले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र ललितपुर शाखाले घटनाको अनुसन्धान गरेको थियो । केसीले पीडित युवतीको नाममा नै 'फेक' एकाउन्ट खोली अश्लील तस्बिर राखिदिएको र पछि इमेलमार्फत धम्क्याएको प्रहरी निरीक्षक ज्योतिराज शर्माले बताए । 'जागिर गुमाएकोमा आक्रोशित केसीले बारम्बार इमेल गर्दै डेढ लाख नदिने भए थप तस्बिर सार्वजनिक गरिदिन्छु भनेको भेटियो,' शर्माले भने ।
प्रहरीले अनुसन्धानका क्रममा केसीले अर्का सहकर्मी शिक्षककी श्रीमतीलाई समेत धम्क्याएको भेटेको छ । सहकर्मी शिक्षकको पीडित युवतीसँग अनैतिक सम्बन्ध रहेको भन्दै केसीले ती शिक्षककी श्रीमतीलाई सहयोगको आश्वासन दिएका थिए । त्यही बहानामा केसीले ती महिलाको तस्बिर खिचेको प्रहरीले जनायो ।
'उसले ती महिलालाई समेत धम्क्याउँदै दुव्र्यवहार सुरु गरिसकेको रहेछ,' प्रहरी उपरीक्षक थापाले भने । पहिचान लुकाएर 'फेक' इमेलमार्फत् धम्क्याएका केसीले पीडित युवतीलाई भेटी 'आफूले इमेल पठाउनेलाई चिनेको र रकम दिएर मिलाउन सकिने' बताएपछि उसमाथि निगरानी सुरु भएको प्रहरीले जनायो । पछि उसले नै फाटोलाई अश्लील बनाउने, फेसबुकमा राख्ने र मोलमोलाइ गरेर धम्क्याउने गरेको प्रहरी निरीक्षक शर्माले बताए ।
'पहिचान लुकाएर उसले नै फोटो बिगार्ने र मध्यस्थकर्ताका रूपमा रकम असुल्ने गरेको भेटियो,' उनले भने । पक्राउ परेपछि आरोपितले घटनाबारे आफूलाई जानकारी नभएको भनेर झुक्याउन खोजेको प्रहरीले जनायो । मध्यस्थकर्ताको भूमिकासमेत निभाएका केसीलाई वास्तविक व्यक्ति उभ्याउन लगाएपछि घटनाको पोल खुलेको हो ।

No comments: