News

Feb 12, 2011

इजिप्टका राष्ट्रपति होस्नी मुबारकले जनतासामु घुँडा टेके

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इजिप्टका राष्ट्रपति होस्नी मुबारकले जनतासामु घुँडा टेकेका छन् । तीन साता लामो जनप्रदर्शनपछि मुबारकले शुक्रबार राष्ट्रपतिबाट राजीनामा दिएका हुन् । राष्ट्रपति मुबारकले उपराष्ट्रपति तथा सैनिक जनरल ओमर सुलेमानलाई सत्ता सुम्पेर शुक्रबारै कायरो छाडेका छन् । जनप्रदर्शन भएको अठारौँ दिनमा सत्ता छोडेर उनी परिवारसहित सार्म ऐल सेखमा गएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।मुबारकले सत्ता छोडेपछि इजिप्टमा हजारौँ जनता कायरोको प्रेसिडेन्सियल प्यालेस अघिल्तिरको तहरिर स्क्वायरनजिक जम्मा भएर खुसियाली मनाएका छन् । घोषणासँगै कायरोमा ४५ मिनेटसम्म आतासबाजी भएको छ । 'इजिप्टबाट अपराधीले शासन छोडेको छ, अब हामी स्वतन्त्र भएका छौँ, ढुक्क भएका छौँ,' प्रदर्शनकारीले भनेको उद्धृत गर्दै सिएनएनले जनाएको छ । खुसियाली मनाउँदै गरेका प्रतिपक्षी नेता मुहम्मद अल बारादेईले भनेका छन्, 'अब इजिप्ट स्वतन्त्र भएको छ, यस्तो सुखद् क्षण मैले अहिलेसम्म देखेको थिइनँ ।' त्यस्तै, अर्का नेता वायल घोनिमले भनेका छन्, 'इजिप्टलाई बधाई छ, अपराधीले दरबार छाडिसकेको छ ।' बिबिसीका अनुसार राष्ट्रपति मुबारक सार्म ऐल सेखस्थित रेड सी रिसोर्टमा रहेको आफ्नै निवासमा बसेका छन् । 'मुबारकले सपरिवार कायरो छोडेका छन्,' इजिप्टको सत्तारुढ नेसनल डेमोक्र्याटिक पार्टीका प्रवक्ता मोहम्मद अबदेल्लाहले एएफपीसँग भनेका छन् । इजिप्टका उपराष्ट्रपति सुलेमानले राष्ट्रपति मुबारकले सत्ता छाडेको जानकारी सम्बोधनमार्फत दिएका हुन् । उनले इजिप्टियन 'आम्र्ड फोर्सेस'को हातमा सम्पूर्ण अधिकार आएको बताएका छन् । अब उनले नै राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । सेनाले देशको जनजीवन सामान्य बन्न केही दिन लाग्ने जनाएको छ । जनताको सम्पत्ति संरक्षण गर्न आवश्यक रहेको पनि सेनाले जनाएको छ । अब उपराष्ट्रपति जनरल सुलेमानको हातमा शासन आएको, निष्पक्ष र धाँधलीरहित राष्ट्रपति निर्वाचन गर्ने दायित्व उनीमाथि नै आएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् । 'ओमर सुलेमानलाई सत्ता आएसँगै निष्पक्ष, धाँधलीरहित राष्ट्रपतीय निर्वाचन गराउने, संवैधानिक परिवर्तन ल्याउने, र देशको संरक्षण गर्ने दायित्व आएको छ,' विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मुबारक इजिप्टमा लामो समय शासन चलाउने तेस्रो राष्ट्रपति हुन् । उनले ३० वर्ष शासन गरेका थिए । तर, मध्यपूर्वमा जनविद्रोहबाट सत्ता छोड्नेमा मुबारक दोस्रो राष्ट्रप्रमुख बनेका छन् । यसअघि ट्युनिसियाका राष्ट्रपति वेन अलीले सत्ता छाडेका थिए । उनी अहिले साउदी अरेबियामा सपरिवार शरणमा छन् ।यसैबीच अमेरिकी उपराष्ट्रपति जोन विडेन, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजाद, जर्मन चान्सलर एन्गेला मार्केललगायतले मुबारकको राजीनामाको स्वागत गरेका छन् । उनीहरूले मुबारकको राजीनामालाई 'इजिप्टियन जनताको ऐतिहासिक विजय' भनेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुबारकको राजीनामाबारे आफूले छिट्टै औपचारिक प्रतिक्रिया दिने भएका छन् । तर, उनले यसबारे आफूले शुक्रबार बिहानै जानकारी पाएको बताएका छन् ।उता इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादले भने मुबारकले सत्ता छोड्नुअघि मध्यपूर्व चाँडै नै अमेरिकी र यहुदीवादी हैकमवादबाट मुक्त हुने बताएका छन् । उनले इरानको इस्लामिक क्रान्तिको ३२औँ वाषिर्कोत्सव मनाइरहँदा भनेका थिए, 'मध्यपूर्व चाँडै नै इरानका शत्रुहरू अमेरिका र इजरायलबाट मुक्त हुनेछ ।'

No comments: