News

Feb 12, 2011

सात बुँदे कार्यान्वयन गर्न एमालेका युवा नेताहरुको दबाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका युवा नेताहरुले एकीकृत नेकपा माओवादीसँग भएको सात बुँदे सहमति पूर्णकार्यान्वयन गर्न पार्टी नेतृत्वलाई दबाव दिन थालेका छन् । सहमति कार्यान्वयन नगर्न प्रधानमन्त्री झलनाथ खनाललाई पार्टी भित्रैबाट दवाव आइरहेको बेला युवा नेताहरुले भने माओवादीसँगको सहकार्यलाई टुट्न नदिन सहमति पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।हामिसँग कुरा गर्दै युवासंघ नेपालका पूर्वअध्यक्ष अजम्बर काम्वाङ राईले शान्तिप्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पुर्‍याउन एमालेले सात बुँदे सहमति पालना गर्नुको विकल्प नभएको बताउनुभयो । ‘स्थायी समिति बैठकले सहमति कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्थामा सात बुँदेलाई स्टि्रक्ली पालना गर्नैपर्छ,’ राईले भन्नुभयो, ‘राष्ट्रिय एजेण्डालाई निष्कर्षमा पुर्‍याउन माओवादीलगायत सबै दलसँग मिलेर जानुको विकल्प छैन ।’सात बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनाललाई शनिबार युवा नेताहरुले भेटेरै आग्रह गर्न लागेका छन् । ‘गृह मन्त्रालयमा अड्किएर शान्ति र संविधानलाई अल्झाउनु हुँदैन,’ राईले भन्नुभयो, ‘दवाव आयो भनेर नेतृत्व डराउनु हुन्न । सहमति कार्यान्वयन गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई पनि भेट्दै छौं ।’ अपरान्ह पाँच बजे प्रधानमन्त्री खनाललाई बालुवाटारमा भेटेर सहमति पालनाको लागि आग्रह गर्ने राईले जानकारी दिनुभयो ।

No comments: