News

Feb 15, 2011

सरकारलाई पूर्णता दिने खनाल-दाहाल सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ३ - प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सात बुँदे सहमतिमा केही परिमार्जनसहित सरकारलाई पूर्णता दिने सहमति भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको छलफलले सात बुँदे सहमतिमा केही परिमार्जन गरेको छभने माओवादीलाई गृह मन्त्रालय दिने सहमति पनि भएको छ । खनाल र दाहालबीच प्रधानमन्त्री निर्वाचन अघि माघ २० गते भएको सात बुँदे सहमतिका केही विवादस्पद बुँदाहरुमा सुधार तथा ब्याख्या गर्न माओवादी र गृह मन्त्रालय दिन प्रधानमन्त्री खनाल सहमत भएपछि छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति बनेको हो । माओवादी र एमाले नेताबीच सात बुँदे सहमतिमा भएको माओवादी सेनाका लडाकुलाई छुट्टै फोर्स बनाउने लगायतका बुँदामा राजनीतिक दलहरुको सहमतिमा बिशेष समिति मार्फत शान्तिप्रकृयालाई टुङ्गोमा पुर्याउने भनिएको छ । 'जनताको समावेशी संविधान' निर्माण गर्ने भनिएकोमा हालसम्म प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्ने उल्लेख गर्दै लोकतन्त्रलाईसमेत उल्लेख गरिएको छ ।
त्यसैगरी आलोपालो गरी सरकार चलाउने भनिएकोमा सबै दलहरुलाई सरकारमा सहभागी हुन् आग्रह गर्दै सबैको सहमतिको आधारमा अघि बढ्ने उल्लेख गरिएको छ । यस सहमतिलाई सात बुँदे सहमतिको परिमार्जन वा सुधार नभनी ब्याख्या भनिएको छ । त्यसैगरी प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालबीच गृह मन्त्रालय माओवादीलाई दिने र त्यसमा यसअघि माओवादीबाट चर्चामा आएका माओवादीका सैन्य इञ्चार्ज बर्षमान पुनलाई जिम्मेवारी दिने सहमति भएको पनि स्रोतले जनाएको छ । प्रधानमन्त्री निवासबाट सिधै राजधानीमा आयोजित तामाङ् मुक्ति मोर्चाको कार्यक्रममा आएका अध्यक्ष दाहालले सरकारले छिट्टै पूर्णता पाउने उल्लेख गर्दै सबै दललाई त्यसमा सहभागी हुन आग्रह गरे । उनले भने, 'सरकारले चाँडै पूर्णता पाउँछ, शान्ति र संविधानको पनि टुङ्गो लगाउँछ ।'

No comments: