News

Feb 10, 2011

संघीयवादी लिम्बुवान आन्दोलन झन चर्कंदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
२६ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलन कार्यको विरुद्धमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सञ्चालन गरिरहेको शान्तिपूर्ण विरोध आन्दोलनमा माघ २२ गते धनकुटाको सीडीओ, डीएसपी र लिम्बुवान विरोधी एमालेहरुले मिलेर उल्लङ्घन गरी गाडी जलाएपछि लिम्बुवानको अनिश्चितकालीन आन्दोलन झन चर्किरहेको छ । शान्तिपूर्ण आन्दोलनलाई आफैले उल्लङ्घन गर्ने, जबर्जस्ती गाडी चलाउने अनि जलाउने र त्यसको क्षतिपूर्ति लिम्बुवान कार्यकर्ताबाट असुल्ने षडयन्त्रको विरुद्धमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको अरुणपूर्व ९ जिल्ला लिम्बुवान सडक बन्द कार्यक्रम जारिरहेको छ र माग पूरा नभएइञ्जेल अनिश्चितकालसम्म जारिरहने माघ २६ गते लिम्बुवानद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन "मिराक" द्वारा हस्ताक्षतिर बुधबार प्रेसित विज्ञप्तिमा जनाइए अनुसार हालसम्म लिम्बुवानका विभिन्न स्थानबाट एकात्मक प्रहरी प्रशासनद्वारा गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुमा मिति २०६७।१०।२२ गते धनकुटामा झूटा मुद्दा लगाई पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरु चन्द्रसिङ नेम्बाङ, इन्द्र रसाइँली, फौदसिङ चोङ्बाङ र गंगाहाङ तिगेला रहेका छन् । त्यसैगरी, मिति २०६७।१०।२५ मा इटहरी सुनसरीबाट पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरु तागेरा लिम्बू, युशन लिम्बू, विशाल कार्की, सुवास श्रेष्ठ र सङ्गम श्रेष्ठ छन् । साथै, मिति २०६७।१०।२६ मा मोरङको पथरीबाट पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरु अशोक चेम्जोङ, वीरबहादुर घिसिङ, प्रितम फागो, डिकबहादुर साँवा, सुवास कुरुम्बाङ मछिन्द्र नाल्बो र सानुबाबा सुब्बासमेत गरी जम्मा १६ जना भएका छन् ।सोही प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका मागहरुमा- पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरुमाथि लगाएइको झूटा मुद्दा खारेज गरी अविलम्ब रिहा गर्नुपर्ने; धनकुटामा रहेको परिषदका केन्द्रीय सदस्य इन्द्र रसाइँलीको घर र परिषदको कार्यालय तोडफोड गर्नेमाथि तुरुन्त कानुनी कार्वाही गर्नुपर्ने र एकात्मक मतदाता नामावली सङ्कल कार्य तुरुन्त बन्द गरी अरुणपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक घोषणा गर्नुपर्नेलगायत रहेका छन् । उक्त प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक लिम्बुवानका थप आन्दोलनका कार्यक्रमहरुमा मिति २०६७ माघ २७ गतेदेखि अरुणपूर्व लिम्बुवानका सम्पूर्ण शैक्षिक संस्थाहरु माग पूरा नभएसम्म बन्द गरिने,मिति २०६७ माघ २७ गते अरुणपूर्व ९ जिल्लाका सबै गा.वि.स. तथा नगरपालिकाका कार्यलयहरुमा तालाबन्दी गरी कालो झण्डा गाडिने र मिति २०६७ माघ २५ गतेदेखिको लिम्बुवान सडक बन्द कार्यक्रम माग पूरा नभएसम्म अनिश्चितकालका लागि जारी रहनेलगायत रहेका छन् । साथै, लिम्बुवानका मागहरु यथासीघ्र पूरा नभए थप आन्दोलनहरु घोषणा गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

No comments: