News

Feb 23, 2011

बीबीसी सर्टवेभ सेवा बन्द नगर्न ब्रिटिस सांसदहरुलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बीबीसी विश्व सेवाले आर्थिक कारण देखाउँदै बीबीसी नेपाली सेवाको सर्टवेभमार्फत् गरिँदै आएको प्रसारण आउँदो मार्च अन्तिम सातादेखि बन्द गर्न गरेको निर्णयमाथि पुनर्विचारका लागि दबाब दिन बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाले ब्रिटिस सांसदहरुलाई आग्रह गरेका छन् । बीबीसीको त्यस्तो निर्णयबाट एफएममार्फत् बीबीसी सुन्ने नेपाली स्रोताहरुलाई असर नपरे पनि एफएमको पहुँच नभएका पहाडी क्षेत्र तथा सीमापारिका नेपालीभाषी भारतीयहरुले भने सूचना र समाचारको एउटा विश्वसनीय स्रोत गुमाउने उनीहरुको चिन्ता छ ।उत्तरी लन्डनस्थित बन्र्टओक नेपाली समाजका अध्यक्ष लक्ष्य गुरुङले लन्डनको हेन्डन क्षेत्रबाट निर्वाचित सत्तारुढ कन्जर्भेटिभ पार्टीका सांसद म्याथु अफोर्डलाई बीबीसी नेपाली सेवाको सर्टवेभ प्रसारण बन्द नगर्न पहल गरिदिन समाजको तर्फबाट आफूले पत्र लेखेको बताए । बीबीसीका पूर्व पत्रकारसमेत रहेका सांसद अफोर्डले यसबारे बि्रटेनको विदेश मन्त्रालयसँग आफूले जवाफ माग्ने वचन दिएको पनि उनले जनाए ।गैरआवासीय नेपालीहरुको संस्था एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङले बीबीसी सर्टवेभ सेवा यथावत राख्ने सवालमा थप दबाब सिर्जना गर्न इ-पिटिसन, डेलिगेसन वा सम्बन्धित निकायमा पत्र लेख्ने आदि सबै उपाय अवलम्बन गरिने बताए । ‘हामी बीबीसी सर्टवेभ बचाउन विश्वका ५६ देशमा रहेका गैरआवासीय नेपालीहरुको हस्ताक्षर संकलन गर्नसमेत तयार छौं,’ गुरुङले भने । लन्डनस्थित नेपाली राजदूत डा। सुरेशचन्द्र चालिसेले सर्टवेभ सेवा बन्द हुन लागेको सुन्दा आफूलाई दुःख लागेको बताउँदै त्यसलाई यथावत् राख्ने सन्दर्भमा आफूले सक्दो पहल गर्ने जनाए ।

No comments: