News

Feb 11, 2011

राहुलको अर्को कीर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २८ - नेपाली युवा क्रिकेटरका लागि एसीसी यू-१९ एलिट कपको अन्तिम दिन बिहीबार सुखद नरहे पनि व्यक्तिगत रूपमा राहुलकुमार विकको थाइल्यान्ड भ्रमण अविस्मरणीय रह्यो । उनले प्रतियोगितामा दुई नयाँ कीर्तिमान कायम गरे । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा आफूलाई अगाडि राख्दै उनी एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि बढी विकेट लिने खेलाडीसमेत बने । उनले कुल २१ विकेट हात पारे । यसअघि उक्त कीर्तिमान कृष्ण कार्कीको नाममा थियो । कार्कीले सन् २००६ मा मलेसियामा भएको एसीसी यू-१५ एलिट कपमा २० विकेट लिएर कीर्तिमान राखेका थिए । सन् २००८ मा जर्सीमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ मा महबुब आलमले १९ विकेट लिएका थिए ।
प्रतियोगिताको बेस्ट-बलर बन्न सफल राहुलले जादूगरी बलिङ गर्दै समूह चरणको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध ८ विकेट लिएका थिए । उनी उमेर समूहमा एउटै खेलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
राहुलले समूह चरणमा १६ विकेट लिएका थिए । खेलजीवनमा उत्कृष्ट बलिङ गरेका राहुलले यू-१९ मा अहिलेसम्मकै कीर्तिमान राखेका हुन् । उनले सन् २००१ मा लाक्पा लामाले लिएको १५ विकेटको कीर्तिमान भंग गरे । राहुलले समूह चरणमा यूएई र ओमानविरुद्ध ३-३, अफगानिस्तान र थाइल्यान्डविरुद्ध २ र ८ विकेट लिएका थिए ।
भैरहवाका राहुलले फाइनलमा १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर एक विकेट लिए । बायाँ हाते 'अर्थाेडक्स' स्पिनर राहुलले प्रतियोगितामा ४१ ओभर १ बलमा ६ मेडन फाल्दै १ सय ५ रन खर्चिए । क्षेत्र नम्बर-४, भैरहवाका बलर राहुलले २०१० को फेबु्रअरीमा काठमाडौंमा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा सर्वाधिक १२ विकेट लिएका थिए । बागलुङको बुर्तिबाङमा जन्मेका राहुलले परिवार भारतको पञ्जाबमा रहँदा क्रिकेट सिकेका थिए । नेपाल फर्केर विगत ७ वर्षदेखि बुटवलमा बस्न थालेपछि उनले भैरहवाको खुकुरी क्रिकेट क्लबबाट खेल्न सुरु गरेका हुन् । राहुलले भैरहवाबाट वाईवाई यू-१९ राष्ट्रिय लिग क्रिकेट खेल्दै घरेलु क्रिकेटमा पाइला टेकेका हुन् ।

No comments: