News

Feb 21, 2011

निजी स्कुलमा शुल्क बढाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ फागुन,निजी विद्यालय सञ्चालकले आगामी शैक्षिक सत्रमा पनि मासिक शिक्षणसहितको शुल्क बढाउने तयारी गरेका छन् । महँगी बढेको कारण देखाउँदै उनीहरूले शुल्क बढाउने तयारी गरेका हुन् । तर, शिक्षकको तलब नबढाउने सुरमा उनीहरू छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष राजेश खड्काले दस प्रतिशतसम्म शुल्क बढाउँदा कुनै प्रश्न नउठ्ने उल्लेख गर्दै उचित कारण देखाएमा त्योभन्दा बढी बढाउन सकिने दाबी गरे । उनले नयाँ पत्रिकासँग भने, 'राष्ट्र बैंकले दस प्रतिशत मुद्रास्फीति भएको सार्वजनिक गरेेकाले दस प्रतिशत शुल्क वृद्धिमा कुनै प्रश्न गर्न मिल्दैन, त्योभन्दा धेरै जेन्युन कारण देखाएर बढाउन सक्छन् ।'
एनप्याब्सनका अध्यक्ष गीता राणाले महँगी बढेका कारण निजी विद्यालयमा केही प्रतिशत शुल्क वृद्धि हुने बताइन् । घरभाडा, बैंकसँग लिएको ऋणको ब्याज बढेको र समग्रमा महँगी बढेका कारण शुल्क वृद्धि गर्नुपर्ने अवस्था आएको उनको तर्क छ ।
शिक्षकको तलब भने नबढ्ने अध्यक्ष राणाले बताइन् । 'अघिल्लो वर्ष सरकारी विद्यालयमा पढाउने शिक्षकको तलब स्केल बढेकाले निजी विद्यालयको शुल्क पनि बढेको थियो,' उनले भनिन्, 'तर अहिले शिक्षकको तलब बढ्दैन, शिक्षण शुल्क अघिल्लो वर्षभन्दा कम बढ्छ ।' केन्द्रीय शुल्क अनुगमन समितिको केही दिनअघि बसेको बैठकमा निजी विद्यालय सञ्चालकले केही प्रतिशत शुल्क बढाउन माग गरेका थिए । बैठकमा शुल्क बढाउने कुनै आधार नभएको भन्दै विरोध भएको थियो । निजी विद्यालयमा शुल्क बढाउनुपर्ने कुनै आधार नदेखिएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । 'यही आर्थिक वर्षका लागि कायम गरिएको शुल्कको नै औचित्य पुष्टि भएको छैन,' भण्डारीले भने, 'अझै जबर्जस्ती शुल्क बढाएमा हामी प्रतिवाद गर्न बाध्य हुनेछौँ ।'
राष्ट्र बैंकको मुद्रास्फीतिको तथ्यांकलाई आधार मानेर शुल्क बढाउने निजी विद्यालयका संगठनहरूको तर्क तुकहीन रहेको भन्दै भण्डारीले अभिभावकको क्रयशक्ति घटेको र त्यसका आधारमा अघिल्लो वर्षको शुल्कसमेत घटाउनुपर्ने बताए । शिक्षण शुल्क बढाए पनि अधिकांश निजी विद्यालय सञ्चालकले शिक्षकलाई भने स्केलअनुसारको तलब दिने गरेका छैनन् । ०६७ को अनुगमन प्रतिवेदनअनुसार निजी विद्यालयका शिक्षकहरू तोकिएको भन्दा ७५ प्रतिशतसम्म कममा काम गर्न बाध्य छन् । शिक्षक र अभिभावक दुब्लाउने, तर सञ्चालक मोटाउने गरी शुल्क बढाउने निजी विद्यालय सञ्चालकको माग प्रति अभिभावक संघका अध्यक्ष भण्डारीले आपत्ति जनाए ।

No comments: