News

Feb 20, 2011

धनकुटाको हिलेमा आगलागि/४ घर नष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले बजारमा शनिबार साँझ भएको आगलागिबाट करिब साढे चार करोड बराबरको सम्पत्ति नष्ट भएको छ । आगलागिमा ४ घर नष्ट भएको छ भने २ घर आगो फैलन नदिन भत्काइएको छ । ति घरमा बसोबास गर्ने १४ परिवारको धनमाल पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले आइतबार गरेको छानबिनबाट चार करोड ४७ लाख ८२ हजार दुई सय रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको प्रहरी नायब उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
क्षती भएको ६ घरमा भाडामा बस्दै आएका १४ परिवार विस्थापित भएका छन् । आगलागीमा सबैभन्दा बढी क्षती स्थानीय नेत्र बुढाथोकीको २ करोड २२ लाख ५० हजार बराबरको नगद तथा धनमाल जलेर नष्ट भएको छ । यसैगरी भानुभक्त अधिकारीको ४७ लाख ९० हजार, सुन्दर डंगोल ४५ लाख, गोपाल मगरको ३२ लाख, अमित लोको २५ लाख ८० हजार र आशिष तामाङको २१ लाख ६० हजार बराबरको धनमाल क्षती भएको छ । घटनामा डिल्लीमान ओनम, बालकृष्ण बस्नेत, घनश्याम आले, हेमबहादु तामाङ, झनकलाल धिमाल, गोपाल मगर, धनबहादुर मगर, राजकुमारी तामाङ र कुमारी तामाङको पनि लाखौं बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
पहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत रहेको हिलेमा समयमा दमकल नपुग्दा ठुलो क्षती भएको हो । पूर्वाञ्चलको केन्द्र रहेको धनकुटामा हाल एउटा पनि दमकल छैन भने धरानबाट मगाइएको दमकल पनि आगो नियन्त्रण पछि मात्र पुगेको थियो । यसबीच धनकुटा नगरपालिकाले तत्काल राहत स्वरुप पीडित प्रति परिवारलाई १० हजारको दरले सहयोग उपलब्ध गराउने कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले जानकारी दिए ।

No comments: