News

Feb 25, 2011

समलिङ्गीद्वारा राज्यबाट समान संरक्षण पाउनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकहरुले नयाँ नेपालमा राज्यबाट समान संरक्षण पाउनुपर्ने माग गरेका छन् । राजविराजमा आयोजित स्वास्थ्यकर्मी, सञ्चारकर्मी र जिल्ला विकास समितिको संयन्त्रबीचको सचेतीकरण गोष्ठीका अवसरमा यौनिक अल्पसङ्ख्यकहरुले यस्तो माग गरेका हुन् । गोष्ठीमा नीलहिरा समाजका परियोजना अधिकृत देवानन्द चौधरीले समलिङ्गीहरुप्रति सञ्चार माध्यममा सकारात्मक परिवर्तन आए पनि समुदायबाट पाउनुपर्ने सहयोग र स्रोतसाधनको कमीले गर्दा समान अवसर प्राप्त हुन नसकेको बताउनुभयो।
जनसङ्ख्याको करिब १० प्रतिशत समलिङ्गी र करिब एक प्रतिशत तेस्रो लिङ्गीको सङ्ख्या रहे पनि सरकारी जागिरमा सो समुदायबाट सहायक स्तरको पियनसम्म नभएको गुनासो गर्दै चौधरीले समलिङ्गी र तेस्रो लिङ्गीहरुलाई आत्मसम्मानका साथ बाँच्न दिने वातावरणको माग गर्नुभयो । कार्यक्रममा सहभागी समलिङ्गीहरुले पारिवारिक बहिष्कार, सम्पत्ति र रोजगारीबाट वञ्चित, घरगाउँबाट निकाला जस्ता पीडा भोग्दै आउनु परेको दु:खेसो पोख्दै मित्रवत व्यवहारका लागि सबैसँग आग्रह गरेका थिए । तेस्रो लिङ्गी विजयले कसैले इच्छा गरेर महिला, पुरुष बन्न नसकिने भए जस्तै तेस्रो लिङ्गी पनि कसैको चाहनाले नभई जन्मजात हुने कुरा भएकाले लोककल्याणकारी राज्यमा आफ्नो पहिचानसहित बाँच्न पाउने प्रत्येक मानिसको अधिकारको रक्षा हुनुपर्ने बताउनुभयो ।

No comments: