News

Feb 22, 2011

दाहाललाई भारतीय विपक्षी नेताले निम्तो दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली, फाल्गुन १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक वरिष्ठ भारतीय विपक्षी नेताको निमन्त्रणामा एक महिनापछि भारत भ्रमण गर्न सक्ने संकेत दिएका छन् । जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको औपचारिक निमन्त्रणापत्र बोकेर गत साता काठमाडौं पुगेका दलका महासचिव केसी त्यागीसँगको भेटमा उनले त्यस्तो संकेत दिएका हुन् । 'माओवादी अध्यक्षले मार्च महिनाको अन्तिम सातामा आफू भारत भम्रणमा आउन सक्ने बताउनुभएको छ,' त्यागीले भने ।
नयाँ सरकार गठन भएपछि सातबुँदे सम्झौता र मन्त्रालय बाँडफाँडका विषयमा राजनीतिक मतभेद गहिरिएका बेला दाहालले छिट्टै भारत भ्रमण गर्लान्/नगर्लान् प्रस्ट हुन सकेको छैन । साथै, विपक्षी नेताको निमन्त्रणामा भारत भ्रमणमा आइहाले पनि उनले विपक्षी दलहरूको मोर्चा नेसनल डेमोक्रेटिक एलायन्समा आबद्ध भाजपाजस्ता दल र सत्तारूढ प्रमुख घटक कंग्रेस आईका नेताहरूसँग भेट्ने, नभेट्नेबारे पनि प्रस्ट हुन सकेको छैन ।
भारतसँग सम्बन्ध सुधारको प्रयासमा भारतीय उच्च नेत्तृत्वसँग खुला छलफल गर्ने इच्छा सार्वजनिक रूपमै व्यक्त गर्दै आएका दाहालको दुई वर्षयताको उक्त प्रयास अझै सफल हुन सकेको छैन । सेनापति प्रकरणपछि सरकारबाट बाहिरिएको माओवादीले त्यसको पछाडि भारतको हात रहेको आरोप लगाउँदै ऊविरुद्ध राष्टियताको आन्दोलन घोषणा गरेको थियो । त्यसयता माओवादी र भारतबीचको कटु सम्बन्ध सतहमा आएको थियो । दाहाललाई निम्तो दिनुको कारण र यहां हुनसक्ने भेटबारे सोधिएको प्रश्नमा त्यागीले दाहाललाई अहिले विवादमा ल्याउन आफूले नचाहेको प्रतिक्रिया दिए । 'अहिले म यति मात्रै भन्न सक्छु- मैले मेरो पार्टीको अध्यक्षको निम्तो पत्र पुष्पकमल दाहालजीलाई दिएको छु र उहाँ यसमा सकरात्मक हुनुहुन्छ,' उनले भने ।

No comments: