News

Feb 22, 2011

ब्राजिल, फिनल्यान्ड र क्यानडाले आवासीय दूतावास खोल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ फागुन,ब्राजिल, फिनल्यान्ड र क्यानडाले नेपालमा आवासीय राजदूतावास स्थापना गर्ने तयारी गरेका छन् । ब्राजिलले दूतावास स्थापनाको अन्तिम तयारी गरेको छ । फिनल्यान्ड र क्यानडाले भने दूतावास स्तरोन्नतिको तयारी गरेका छन् । तीनवटै देशले भारतको नयाँदिल्लीस्थित दूतावासबाट नेपालसँगको कूटनीतिक सम्बन्ध हेर्दै आएका थिए । उनीहरूले सन् २०११ भित्रै नेपालमा आवासीय राजदूतावास स्थापना गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जानकारी दिए । 'नेपालसँगको कूटनीतिक र रणनीतिक सम्बन्धलाई विस्तार गर्न ती देशले नेपालमा आवासीय दूतावास स्थापना गर्न लागेको स्पष्ट बुझ्न सकिन्छ,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, 'यसबाट नेपालसँगको दौत्य सम्बन्ध त बढ्ने नै छ, त्यसबाहेक ती देश जान चाहने नेपालीलाई भिसा प्रक्रिया र कन्सुलरसम्बन्धी काममा सहज हुनेछ ।'
भारत र चीनजस्ता उदीयमान विश्वअर्थतन्त्र भएका मुलुकको बीचमा नेपाल रहेकाले तीनवटै देशले आवासीय दूतावास स्थापना र स्तरोन्नति गर्न लागेको परराष्ट्रका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताए । 'नेपाललाई उनीहरूले रणनीतिक महत्त्वको ठाउँका रूपमा हेरेको बुझ्न सकिन्छ,' घिमिरेले भने, 'पश्चिमीहरूको चासो दिनानुदिन नेपालप्रति बढ्दै गएको छ ।'
नेपालमा हाल २४ देशका दूतावास छन् । ल्याटिन अमेरिकी देश ब्राजिलले नेपालका लागि पहिलो आवासीय राजदूतका रूपमा म्याक्रोस बोर्गस डिउपार्ट रोवेइयरोलाई पठाउने भएको छ । केही समयअघि ब्राजिलको विदेश मन्त्रालयले परराष्ट्रमा पत्राचार गरी नयाँ राजदूतबारे जानकारी गराएको थियो । 'ब्राजिलले नयाँ राजदूतको नाम पठाएसँगै स्वीकृतिका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएका थियौँ,' परराष्ट्रका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले भने, 'राष्ट्रपति कार्यालयले स्वीकृति दियो, अब प्रधानमन्त्री कार्यालयबाट आउन बाँकी छ ।' ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाहले ब्राजिल नेपालमा दूतावास खोल्ने अन्तिम तयारीमा रहेको जानकारी दिए । नेपालले अघिल्लो वर्ष मात्रै ब्राजिलमा दूतावास खोलेको हो ।

No comments: