News

Feb 25, 2011

गण्डकपीडितलाई क्षतिपूर्तिबापत रकम दिन भारत सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र भारतका अधिकारीबीच कोशी र गण्डक परियोजनाको समस्या र समाधानबारे १५ बुँदे सहमति भएको छ । हालै भारतको राजगिरमा गरिएको दुईदिने छलफलमा गण्डक र कोशी परियोजनामा देखिएका समस्याहरु समाधान गर्न यस्तो सहमति भएको हो । वार्ता वा छलफलबाट विद्यमान समस्या समाधान गर्न दुवै देश सहमत भएको छलफलमा सहभागी नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले बताउनुभयो ।यस्तै नवलपरासीका गण्डकपीडितलाई क्षतिपूर्तिबापत रकम दिन भारत सरकार सहमत भएको छ । यसका लागि क्षतिपूर्तिको पुनः मूल्याङ्कन गर्ने सहमति भएको छ । त्यसैगरी, नवलपरासीमा रहेको गण्डकअन्तर्गत जीर्ण अवस्थामा रहेका ठोकर नम्बर २ र ३ मा नयाँ स्पर निर्माण गर्ने सहमति भएको जनाइएको छ । गण्डक क्षेत्रअन्तर्गत बी ग्यापमा सडक निर्माण गर्न भारु तीन करोड भारत सरकारले विनियोजन गर्ने र ठोकर नम्बर १२ तत्काल मर्मत गर्ने सहमति भएको प्रजिअ पन्तले बताउनुभयो । छलफलमा नेपाली टोलीको नेतृत्व सिँचाइ विभागका महानिर्देशक एके पोखरेलले तथा भारततर्फबाट भारतीय जल संसाधन विभागका मुख्य सचिव अफजल अमानुल्लाहले गर्नुभएको थियो ।

No comments: