News

Feb 21, 2011

एमाले सात बुँदे सहमति परिमार्जनको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ९ - सत्तारुढ एमालेले सात बुँदे सहमतिलाई पार्टीका मान्यताअनुसार परिमार्जन गर्ने भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सात बुँदे सहमति भएको थियो । पार्टी मुख्यालय बल्खुमा सोमबार बसेको पोलिटब्युरो बैठकले सात बुँदे सहमतिलाई परिमार्जनका लागि केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक मंगलाबार बस्दैछ । 'शान्ति र संविधानको कार्यभार पूरा गर्न नै सात बुँदे सम्झौता भएको हो, तर त्यसमा केही स्पष्ट हुन जरुरी छ,' बैठकपछि ज्ञवालीले भने, 'पोलिटब्युरोले सात बुँदे सहमतिलाई परिमार्जन गर्न केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव पारित गर्‍यो ।' एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहालबीच माघ २० गते भएको सात बुँदे सहमति अस्पष्ट भएको भन्द्र बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीले परिमार्जन गर्न दबाब दिंदै आएका थिए ।
पोलिटब्युरो बैठकले तत्कालका लागि गृह मन्त्रालय एमालेले नै राख्नुपर्ने अडान राखेको नेता ज्ञवालीले जानकारी दिए । 'गृह मन्त्रालयबारे अरु दलसँग पनि छलफल जारी छ, त्यो पछि टुंगो लाग्छ,' उनले भने, 'अहिले भने एमालेले नै राख्नुपर्छ ।' बैठकले कांग्रेसलगायतका दललाई सरकारमा ल्याउन पहल गर्ने निर्णय गरेको छ । एमाले बैठकले पूर्वप्रधानमन्त्री एवम् पार्टी बरिष्ठ नेता माधवकुमार नेपालले २० महिना सरकारको सफल नेतृत्व गरेको भन्दै धन्यवाद दिएको छ भने प्रधानमन्त्री नियुक्त भएकोमा अध्यक्ष झलनाथ खनाललाई बधाई दिएको छ । एमालेले खनाललाई प्रधानमन्त्रीमा मत दिने सभासदहरुप्रति पनि धन्यवाद ज्ञापन गरेको छ ।

No comments: