लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राज्य पुनःसंरचना आयोग गठनको कार्यलाई टुङ्गोमा पुर्याउने मुख्य उद्देश्यका साथ तय भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबारको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा एमाले संसदीय कार्यालयमा बसेको सो बैठकमा राज्य पुनःसंरचना आयोगलाई पूर्णता दिनेबारे छलफल भए पनि एकीकृत नेकपा (माओवादी)ले शान्तिप्रक्रिया, संविधान लेखनलगायत मुद्दालाई ‘प्याकेज’मै टुङ्ग्याउनुपर्ने अडान लिएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।बैठकमा माओवादी नेतृत्वको सरकारका पालामा गणेशबहादुर गुरुङको अध्यक्षतामा गठित राज्य पुनःसंरचना आयोगलाई पूर्णता दिने सहमति भए पनि अन्य विषयमा मतान्तर हुँदैआइरहेको छ ।बैठकमा संविधानसभाका विषयगत समितिले पेस गरेका प्रतिवेदनमाथि व्यापक छलफल गरेर प्रक्रिया पूरा भएका प्रतिवेदनलाई संविधानसभामा छलफलका लागि लगेर संविधानसभाका लागि ‘बिजनेस’ उपलब्ध गराउनुपर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।बैठकपछि पत्रकारसँग कुरा गर्दै एकीकृत नेकपा (माओवादी)का उपनेता नारायणकाजी श्रेष्ठले तोकिएकै समयमा संविधान निर्माण गर्न कार्यतालिकासहित कति दिन छुट्टयाउने र कति समय राख्ने भन्ने विषयमा आफूले विषय प्रवेश गराउँदा अन्य दलले पहिला राज्य पुनःसंरचना आयोगलाई टुङ्ग्याउन अडान लिएपछि बैठक स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।उहाँले पुनःसंरचना आयोगको कार्यतालिका र क्षेत्राधिकारको टुङ्गो लगाएर निर्णय गर्नुपर्नेमा आफ्नो दलले सुझाएको उल्लेख गर्दै पुनःसंरचना आयोगको गठन, शान्ति प्रक्रिया र संविधानका विषयमा अधिकतम प्रयासकासाथ सहमतिमा पुग्न सबै दल एक हुनुपर्नेमा जोड दिनुभयो ।नेपाली काङ्गे्रसका उपसभापति रामचन्द्र पौडेलले राज्य पुनःसंरचना आयोग गठनका लागि अझै व्यापक छलफलको आवश्यकता रहेकोले अर्को बैठकमा छलफल गरी टुङ्गोमा पुर्याउने सहमति भएको जानकारी दिनुभयो ।नेकपा (एमाले) संसदीय दलका उपनेता भीम आचार्यले माओवादीले शान्ति प्रक्रिया, संविधान र राज्य पुनःसंरचना आयोगलगायत सरकार परिवर्तनतका विषयमासमेत प्याकेजमा छलफल गर्नुपर्ने अडान लिएपछि पुनःसंरचना आयोग गठनको विषय टुङ्गोमा पुग्न नसकेको बताउनुभयो ।संयन्त्रको अर्को बैठक चैत २२ गते बस्ने जनाइएको छ ।
No comments:
Post a Comment