News

Apr 10, 2010

दुई खेमामा विभाजन एमालेका सभासदहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ अप्रिल,२०१०,प्रमुख सत्तारुढ दल नेकपा एमालेका सभासदहरुले प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । हिजो शनिबारदेखि शुरु भएको एमाले संसदीय दलको बैठकमा अधिकांश सभासदहरुले प्रधानमन्त्री नेपालले राजीनामा दिएर सहमतिका लागि निकास दिनुपर्ने माग गरिरहेका छन् । मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री नेपालको राजीनामाको विकल्प नभएको अधिकांश सभासदहरुको माग रहेको छ । तर प्रधानमन्त्री नेपाल र प्रभावशाली नेता मानिएका केपी शर्मा ओली निकट केही सभासदहरुले भने प्रधानमन्त्रीले राजीनामा दिन नहुने अडानमा रहेका छन् ।
बैठकमा दुई पक्षमा विभाजित नेता तथा कार्यकर्ताहरुबीच तीब्र विवाद देखिएको छ । सभासदहरुले राजीनामाका लागि तीब्र दबाब दिएपछि राजीनामा दिने या नदिने बिषयमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहानैदेखि एमाले नेताहरुको गोप्य बैठक बसिरहेको छ । एमाले संसदीय दलको बैठक आज पनि बस्दैछ ।
बैठकमा हिजो बोल्न बाँकी रहेका सभासदहरुले बोल्ने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन् । हिजोको बैठकमा एमालेका सभासदहरु यामलाल कँडेल, बिजय पौडेल, राधा ज्ञवाली, रविन्द्र अधिकारी, रिजवान अन्सारी लगायतले प्रधानमन्त्री नेपालले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

No comments: