News

Apr 10, 2010

पोल्याण्डका राष्ट्रपतिको विमान दुर्घटनामा मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पश्चिम रूसमा भएको एउटा विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति लेक काजिन्स्की, उच्च सरकारी र सैनिक अधिकारीहरुको ज्यान गएको छ। विवरणहरु अनुसार दुर्घटनाग्रस्त विमान टुपलेभ-१५४ मा करीब एकसय जना सवार थिए। विमान बेलारुस संगको रूसी सीमाना नजीकैको स्मोलेन्स्क विमानस्थलमा बाक्लो कुहीरोका बीच पुग्नै लाग्दा जंगलमा खसेको थियो। पोलिश विदेश मन्त्रालयका एकजना प्रवक्ताले दुर्घटनामा कोही पनि नबाँचेको पुष्टी गरेका छन। दोश्रो विश्व युद्धताका ७० वर्षअघि तत्कालीन सोभियत नेता जोसेफ स्टालिनको आदेशमा सोभियत गुप्तचर प्रहरीद्वारा आम हत्या गरिएका हजारौं पोलिस सैनिक अधिकृतहरु र अरुको सम्मानमा आयोजित समारोहमा भाग लिने सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति काजिन्स्की त्यसतर्फ जाँदैथिए। साठी वर्षिय राष्ट्रपति काजिन्स्कीका साथ उनकी पत्नी पोल्याण्डका सेना प्रमुख र पोलिश केन्द्रीय बैंकका प्रमुख पनि थिए।
वार्सामा गरिएको घोषणा अनुसार पोलिश सरकारको एउटा आपत्कालीन बैठक डाकिएको छ। पोलिश संसदको तल्लो सदनका अध्यक्ष ब्रोनिस्ला कोमोरोस्कीले नयाँ चुनाव नहुन्जेल राष्ट्रपतिको काम गर्नेछन।
राष्ट्रपति चढेको टुपोलेभ विमान सन १९६० मा डिजाइन गरिएको थियो।
उक्त विमानको सट्टा नयाँ आधुनिक विमान प्रयोग गर्ने सुझाव केही अधिकारीहरुले विगतमा दिएका थिए।पोल्यान्डका सभामुख तथा निमित्त राष्ट्रपतिले एक साता राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको छ। सन् २००५ को चुनाव जितेर राष्ट्रपति बन्नुभएका लेक कास्जेन्स्की र उहाँकी पत्नी मारियाका एक छोरी मार्टर्ट दुइ नातिनी रहेका छन्।पोल्यान्डको संविधानअनुसार राष्ट्रपतिको निधनको १४ दिनभित्रै चुनावको घोषणा गरिनेछ। उक्त घोषणाको ६० दिनभित्र चुनाव सम्पन्न गराइनुपर्दछ। ३ करोड ८० लाख जनसंख्या भएको पोल्यान्ड हालै युरोपेली संघमा समाहित हुने १० वटा ठूला कम्युनिस्ट राष्ट्रमध्येको हो। गत वर्षआर्थिक मन्दीबाट बच्ने पोल्यान्ड एक मात्र युरोपेली संघको राष्ट्र हुन पुगेको थियो। त्यहाँको आर्थिक वृद्धिदर १.७ प्रतिशत रहेको छ।

No comments: