News

Nov 14, 2010

आङ सान सुकी र नेपालको सम्बन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यु ह्याम्सर (अमेरिका), कार्तिक २८ - बितेका २१ वर्षमा १५ वर्ष सैनिक नजरबन्दमा रहेकी म्यान्मार, बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी शनिबारदेखि नजरबन्दमुक्त भएकी छन् । बर्मा हाम्रो छिमेकी मात्र हैन, धेरै नेपालीको बसोबास छ, बर्मामा । बर्माले १ सय ३५ जातीलाई पहिचान दिएको छैन । तिनै जातिमध्ये नेपाली एक हो । त्यहाँ नेपाली गोर्खाका नामले चिनिन्छन् । धेरै नेपालीले बर्माको स्वतन्त्रता आन्दोलन देखेको र केहिले लडेका पनि थिए । गैर आवासिय नेपाली संघ, एनआरएनले बर्मामा ४ लाख नेपाली रहेको अनुमान गरेको छ ।
बर्मामा नेपाली भएजस्तै बर्माकी प्रजातन्त्रवादी नेतृ सुकीसँगको नेपालको नाता रोचक छ । आङ सान सुकी र नेपालबीच अनौठा प्रसंगहरु छन् । यी प्रसंग थाहा पाउन पाँच दशकअघि फर्कनु पर्ने हुन्छ, जसबेला उनी विद्यार्थी नै थिइन । उनकी आमाले बर्माका तर्फबाट नेपालका लागि राजदूतका रुपमा काम गरेकाले सुकी र नेपालको सम्बन्ध बनेको हो । सन् १९६० मा भारत र नेपालको राजदूत भएर उनकी आमा खिन की भारत आएपछि सुकीले दिल्लीको 'जेसस एण्ड मेरी कन्भेन्ट' मा पढीन् । सन् १९६२ मा दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेज, उच्च शिक्षा अक्सफोर्डअन्तर्गत सेन्ट हग्स कलेजमा पढिन् । सन् १९६४ मा राजनीतिशास्त्र डिग्री गरिन् ।
उनले विवाह गरेका व्यक्तिको चासो सुकीलाई नेपालतिर तान्ने अर्को कारण बन्यो । सन् १९७२ मा सुकीले बेलायती प्राज्ञ माइकल एरिससँग विवाह भएको हो । सुकी र एरिसको भेट अक्सफोर्डमा पढ्दा भएको थियो । उनीहरूबाट सन् १९७३ मा अलेक्जेन्डर र सन् १९७७ मा किम दुई छोराहरू जन्मे ।
विवाहपश्चात् माइकल आफ्नो हिमालयप्रति चासोका कारण भुटानको विदेश मन्त्रालयमा भुटानी इतिहासको अनुसन्धान अधिकृत र ६ वर्ष त्यहाँको शाही परिवारका सदस्यको निजी शिक्षक रहे । भुटानमा सन् १६२० मा पहिलो नेपाली समूह गएको इतिहास एरिसले लेखेको 'भुटान - द अर्ली हिस्ट्री अफ ए हिमालयन किङ्गडम' मा उल्लेख छ । त्यो पहिलो समूहमा काठमाडौंका नेवारहरु थिए । माइकललाई हिमाल - नेपाल, भुटान, तिब्बतसम्बन्धी ज्ञाताका रूपमा पनि चिनिन्थ्यो ।
सुकी चर्चामा आउनुअघि चारपटक नेपाल गएकी छन् । सुकीले 'लेट्स भिजिट नेपाल' नामको पुस्तक पनि लेखेकी छन्, उक्त पुस्तक सन् १९८५ मा प्रकाशित भएको छ । उनले बर्मा र भुटानको भ्रमण गर्न सहयोग पुग्ने 'लेट्स भिजिट बर्मा' र 'लेट्स भिजिट भुटान' पनि लेखेकी छन् ।
बौद्ध धर्मप्रति आङ सानको परिवार आबद्ध हुनु सुकीको नेपाल जानुको कारण बनेको थियो । सुकी २०२८ सालमा पहिलोपटक नेपाल गइन् । त्यसबेला उनी काठमाडौंको नःघल टोलस्थित धर्मकीर्ति बिहारमा पनि बसेकी थिइन । तीन महिनासम्म नेपाल बस्ने क्रममा उनले धर्मकीर्ति विहारका भिक्षुणीहरूलाई अंग्रेजी भाषा सिकाएकी थिइन् । दोस्रोपटक पति माइकलसँग पनि नेपाल गइन् । माइकल तिब्बतको अध्ययनका लागि त्यता जाँदा सुकी नेपालमा बसेकी हुन् ।
२०३० सालमा उनी तेस्रोपटक नेपाल गइन् । उनका साथमा उनको पहिलो सन्तान अलेक्जेन्डर पनि थिए । त्यसबेला सुकी नेपालमा एक महिना बसिन् । चौथोपटक २०३१ सालमा नेपाल जाँदा उनको अर्को सन्तान पनि जन्मिसकेको थियो । एरिस पनि साथै थिए । उनीहरूले लामो समय नेपालमा बिताए । त्यसपटक एरिसले नेपालको उत्तरी भेग डुलेर तिब्बती धर्म-संस्कृतिसँग सम्बन्धित हस्तलिखित ग्रन्थहरूको माइक्रोफिल्म बनाए । अमेरिकाको बर्कले विश्वविद्यालयका विशेषज्ञहरूसँग आएका एरिसले त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशियाली अध्ययन केन्द्र, सिनाससँग संयुक्तरूपमा काम गर्न चाहेका थिए, तर नेपालको तत्कालीन सरकारले स्वीकृति दिएन । त्यसपछि उक्त टोलीले आफ्नै ढंगले गोरखाको नुप्री क्षेत्रका गुम्बामा ५-६ हप्ता अध्ययन गरेको थियो । एरिसको उक्त अध्ययनको रिपोर्ट सिनासको प्रकाशन 'कन्ट्रिब्युसन टु नेप्लीज स्टडी' २०३२ असारमा 'रिपार्ट अन द युनिभर्सिटी अफ क्यालिफोर्निया एक्सपिडिसन टु कुटाङ एन्ड नुब्री इन नर्दन नेपाल इन आटम १९७३' का नाममा छापिएको छ ।
सन् १९९१ मा सुकीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । पुरस्कार लिन माइकल र छोराहरु पुगेका थिए । आमाले पाएका धेरै पुरस्कार छोराहरुले नै लिएका छन् ।
सन् १९९५ मा नजरबन्दबाट मुक्त गरिएपछि विश्वभरका थुप्रै नेताहरूले बधाई सन्देश पठाए । नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पठाएको सन्देश लिएर रंगूनस्थित शाही नेपाली राजदूतावासका कर्मचारीहरू सुकीलाई भेट्न जाँदा उनले आफू कैयौंपटक नेपाल आएको कुरा गरेर नेपाली कूटनीतिज्ञहरूलाई चकित पारेकी थिइन् । सुकीका पति माइकल सन् १९९९ मार्च २७, २०५५ चैत्र १३ मा बिते । माइकल र सुकीका दुवै छोरा बेलायतमा छन् ।

No comments: