News

Nov 27, 2010

अध्यक्ष प्रचण्डको नयाँ प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पालुङटार (गोरखा), १० मंसिर : आक्रमण-प्रत्याक्रमण, रक्षा-प्रतिरक्षा र आलोचना-आत्मालोचनाबीच गोरखाको पालुङटारमा आइतबार सुरु भएको माओवादीको छैटौँ विस्तारित बैठक अन्तमा सहमतिबीच समापन हुने संकेत देखिएको छ । फरक मत राख्ने दुवै उपाध्यक्षको समेत विचार समेटेर अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईको प्रतिवेदनमाथिको छलफल सकिएपछि शुक्रबार अध्यक्ष प्रचण्डले राष्ट्रिय प्रतिरोध आन्दोलनको विकास गरेर अगाडि बढ्ने आशयसहितको नयाँ प्रस्ताव पेस गरेका छन् । उनले प्रतिरोध आन्दोलनको विस्तृत खाका तयार गर्न केन्द्रीय समितिलाई जिम्मा दिन आह्वान गरेका छन् ।
प्रचण्डले संविधानसभामार्फत जनताको पक्षमा संविधान बनाउनु जनयुद्धकै विजय हुने भन्दै तर यस्तो संविधान बनाउन देशी/विदेशी प्रतिक्रियावादीहरूले नदिएको जिकिर गरेका छन् । प्रचण्डले निरंकुश शासन चलाउन चाहने शक्तिहरूले संविधान बन्न नदिने गरी षड्यन्त्र गरेको भन्दै यस विषयमा जनतालाई सुसूचित पारेर भावी आन्दोलनका लागि आधार तयार पार्नुपर्ने प्रस्ताव पनि अगाडि सारेका छन् ।
भावी कार्यदिशा, विगतको मूल्यांकन र प्रधान अन्तरविरोधको सवालमा माओवादीभित्र देखिएको मतभेद अन्त्य गर्न डाकिएको बैठकमा तीनवटा प्रतिवेदनमाथि पाँच दिनसम्म गरमागरम बहस भएको थियो । शुक्रबार प्रचण्डले एकीकृत प्रतिवेदनका रूपमा संघर्षको नयाँ मोडलसहित नयाँ प्रतिवेदन पारित गर्न पेस गरेका हुन् । तर, उनको प्रतिवेदनमाथि चित्त नबुझे उपाध्यक्षद्वयले नयाँ प्रतिवेदन पारित हुनुपूर्व शनिबारको बैठकमा आफ्नो धारणा राख्न पाउनेछन् ।

No comments: