News

Nov 5, 2010

ओबामाभन्दा हु जिन्ताओ 'शक्तिशाली'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक १९ - विश्वप्रसिद्ध पत्रिका 'फोब्र्स' ले यस वर्ष तयार पारेको संसारका शक्तिशालीको सूचीमा चिनियाँ राष्ट्रपति हु जिन्ताओले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उछिनेका छन् । ओबामा फोब्र्स साप्ताहिकको गत वर्षको शक्तिशालीको सूचीमा पहिलो स्थानमा थिए । हालैको संसदीय चुनावमा पराजय भोगेका कारण ओबामाको पकड दुवै सदनमा कमजोर देखिएको भन्दै फोब्र्सले उनी पहिलो स्थानबाट र्झनुको मुख्य कारण प्रस्ट पारेको छ । सूचीमा परेको व्यक्तिले संसारमा कति प्रभाव जमाएको, कति सम्पत्ति कमाएको, तिनको शक्ति कति फैलिएको, कत्तिको सक्रियतापूर्वक शक्ति लिएको जस्ता मापदण्ड थियो ।
'त्यसैले चिनियाँ राष्ट्रपति जिन्ताओ संसारका सबभन्दा शक्तिशाली दरिए,' बुधबार प्रकाशित पत्रिकामा लेखिएको छ । संसारको सबभन्दा बढी जनसंख्या भएको देश चीनका राष्ट्रपति जिन्ताओले एक अर्ब तीस करोडमाथि प्रत्यक्ष शासन गर्छन् । यो विश्वको जनसंख्याको २० प्रतिशत हो । चिनियाँ सेना पनि विश्वकै ठूलो छ । उनकै नेतृत्वको चीन विश्वको दोस्रो ठूलो आर्थिक वृद्धि भएको देशमा पर्छ । मापदण्डअनुसार जिन्ताओका 'मुख्य दुश्मन' तिब्बती धार्मिक गुरु दलाई लामा पौने सात अर्ब मानिसमध्ये ३९ औं शक्तिशालीमा परेका छन् ।
संसारका एक सय शक्तिशालीको सूचीमा फेसबुकका संस्थापक मार्क जुकेरवर्गले ४० औं स्थान पाएका छन् । पाकिस्तानी पूर्वसैनिक राष्ट्रपति परवेज मुसर्रफले २९ औं स्थान कब्जा गरेका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन ४७ औं स्थानमा छन् । फोब्र्सका अनुसार तेस्रोदेखि दशौं स्थानमा क्रमशः साउदी नरेश अबदुल्लाह बिन अब्दुल अजिज अल सागद, रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिन, पोप बेनेडिक्ट सोह्रौ, जर्मन चान्सलर अन्जेला माकेल, बेलायती प्रधानमन्त्री डेभिड क्यामेरन, फेडरल रिजर्भका अध्यक्ष बेन बर्नान्क, भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी र माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् ।

No comments: