News

Nov 23, 2010

पौडेलको उमेदवारीका विषयमा मत विभाजन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानूनविद् र संसदका अधिकांश राजनीतिक दलका नेताहरुले संसदको अधिवेशन अन्त्य भए पनि प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलको उमेदवारी सम्बन्धी प्रस्ताव जीवितै रहेको बताईरहँदा नेकपा एमालेका प्रमुख सचेतकले भने अधिवेशनको अन्त्यसँगै पौडेलको उमेदवारी पनि खारेज भएको दावी गर्नुभएको छ ।
उमेदवारीको विषयमा मतभेद देखिएपनि गत मंसिर ३ गते संसदमा माओवादीले गरेको आक्रमणमा छानविन र कारवाहीको विषयमा भने सबै राजनीतिक दलहरु एक देखिएका छन् । साक्षात्कार कार्यक्रममा उर्जामन्त्री डा प्रकाशसरण महतले पक्ष वा विपक्षमा बहुमत नजुटदासम्म प्रधानमन्त्रीको निर्वाचन जारी रहने भन्दै उमेदवारी अहिलेसम्म पनि जीवीत रहेको दावी गर्नुभयो । उहाँले जोड दिदै भन्नुभयो-रामचन्द्र पौडेलको उमेदवारी कायम छ । त्यसलाई कसैले पनि खारेज गर्न सक्दैन ।
उहाँले संसदमा प्रदर्शन भएको माओवादी उदण्डताको विषयमा कारवाही गर्ने जिम्मेवारी सभामुखको भएको भन्दै कारवाही नभए त्यो संसद नियमावलीको ठाडो उल्लघन हुने दावी गर्नुभयो । घटना भएकै बेला सभामुखले रुलिङ गर्नु पर्नेमा त्यसो हुन नसकेकोमा आपत्ति प्रकट गर्दै उहाँले आफूहरुले सभामुखसमक्ष लिखित रुपमै कारवाहीको रुपमा आग्रह गरिसकेको जानकारी दिनुभयो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भिम आचार्यले भने अधिवेशनको अन्त्य सँगै रामचन्द्र पौडेलको उमेदवारी पनि अन्त्य भएको दावी गर्नुभयो ।
कोशी बाढीको विषयमा आफूले राखेको प्रस्तावमाथि कारवाही नहुँदै अधिवेशन अन्त्य हुँदा प्रस्ताव पनि अन्त्य भएको नजिर दिदै सबै खाले प्रस्ताव एकै भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-संसदमा प्रस्तुत हुने सबै प्रस्तावको हैसियत एउटै हुन्छन् । संसदमा नजिर पनि कानून सरह हुन्छ । त्यसैले प्रचलनको आधारमा पनि रामचन्द्र पौडेलको उमेदवारी खारेज हुन्छ । २०४८ सालदेखिनै संसदमा प्रस्तावहरु एक अधिवेशनबाट अर्को अधिवेशनमा लगेको नजिर छैन ।

No comments: