News

Nov 23, 2010

राष्ट्रसंघीय टोलीद्वारा शान्ति प्रक्रिया र सेना समायोजनबारे चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पालुङटार, गारेखा, मंसिर ७ - संयुक्त राष्ट्रसंघका उच्च कार्यटोलीले शान्ति प्रक्रिया र सेना समायोजनको प्रगति बारे माओवादी नेतृत्वसंग चासो राखेका छन् । माओवादी नेतृत्वलाई भेट्न पालुङटार पुगेको सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यटोलीका प्रमुख मेक्सिकोका क्लाउड हेलरको नेतृत्वको टोलीले उक्त चासो राखेको हो ।
टोलीलले शीविरबाट बर्हिगमन भइसकेका कम उमेरका लडाकुको राम्रो अवस्था नरहेको र उनीहरु फेरि सैन्य गतिविधिमा लागेको प्रति पनि माओवादी नेतृत्व समक्ष चिन्ता व्यक्त गरेका छन् । टोली प्रमुख क्लाउडले गतवर्ष शिविरबाट वहिर्गमन भएका कम उमेरका लडाकुको अवस्थाबारे छलफल भएको बताए । कम उमेरका लडाकुलाई नेपालस्थित राष्ट्रसंघीय नियोगहरुको एउटा संयन्त्रले नियमित अनुगमन गरिरहेको छ । अनुगमन टोलीले बर्हिगमन भएका कम उमेरका लडाकुको अवस्था ठीक नरहेको प्रतिवेदन पेस गरेको छ । क्लाउडले उनीहरुको भविष्यबारे माओवादी नेतृत्वसंग छलफल भएको जनाए । उनले प्रमुख राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
पालुङटारको ठाँटी पोखरीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बसेको निवासमा दुई पक्षबीच भेटवार्ता भएको थियो । प्रत्युत्तरमा माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियाप्रति आफूहरु पूर्ण प्रतिवद्ध रहेको जनाएका थिए । बैठकमा सहभागी माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार दाहालले शान्ति प्रक्रियाप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको भन्दै बाहिर आएको हल्लाहरु अनर्गल रहेको बताए । विस्तारित बैठकपछि शान्ति प्रक्रिया,सेना समायोजन लगायतका विषयमा प्याकेजमै निष्कर्ष निकालिने र त्यही अनुसार अन्य दलहरुसंग छलफल गरिने दाहालले राष्ट्रसंघीय टोलीलाई बताए । शिविरबाट एकतर्फी रुपमा बर्हिगमन गरिएकाले कम उमेरका लडाकुको व्यवस्थापनमा कठिनाई भएको सही भएको बताउँदै दाहालले उनीहरु सैन्य गतिविधिमा लागेको कुरा अस्विकार गरे ।

No comments: