News

Nov 27, 2010

कोइरालाको प्रस्ताव देउवाद्वारा अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० मंसिर : कांग्रेस सभापति सुशील कोइरालाले रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्रीमा मनोनयन गर्न गरेको प्रस्ताव नेता शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । यससँगै पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन प्रक्रिया अन्योलमा परेको छ । सभापति कोइराला शुक्रबार बिहान उपसभापति र महामन्त्री मनोनीत गर्ने प्रस्ताव लिएर नेता देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । राष्ट्रपति डा. रामवरण यादवसँगको भेट सकिएलगत्तै सीधै देउवा निवास पुगेका कोइरालाले विधानले दिएको समय सकिन लागेको भन्दै पदाधिकारी मनोनयनमा सहयोग गर्न देउवालाई आग्रह गरेको स्रोतले बतायो ।
सभापति कोइरालाको प्रस्तावलाई नेता देउवाले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार करिब आधा घन्टा लामो भेटमा सभापति कोइरालाले पौडेललाई उपसभापति र सिटौलालाई महामन्त्रीमा मनोनीत गर्न आफूलाई तीब्र दबाब परेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेका थिए । उपसभापतिमा पौडेलको नामप्रति नेता देउवा केही लचिलो भए पनि सिटौलाको नाम भने उनले अस्वीकार गरेका थिए । देउवाले सिटौलाको नामप्रति असहमति जनाएपछि कोइरालाले महामन्त्रीमा डा. रामशरण महतको नाम प्रस्ताव गरेका थिए । तर, देउवा डा. महतलाई महामन्त्री बनाउन पनि सहमत नभएको स्रोतले बतायो ।
सभापति कोइरालाकेा प्रस्तावप्रति असन्तुष्ट देउवाले सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका थिए । सबैसँगको सहमतिमा पदाधिकारी मनोनीत गर्न आग्रह गर्दै नेता देउवाले घुमाउरो ढंगले पक्ष, विपक्ष र बहुमतको आधारमा अघि नबढ्न कोइरालालाई चेतावनी दिएको स्रोतले बतायो । पार्टीका सबै नेता तथा कार्यकर्ताको उचित मूल्यांकन गर्न आग्रह गर्दै देउवाले सबैसँगको छलफल गरेर पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्न आग्रह गरेका थिए ।

No comments: