News

Nov 22, 2010

दाहालद्वारा वैद्य र भट्टराईलाई समेट्ने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पालुङटार, गोरखा-, मंसिर ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले फरक विचार अघि सारेका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईलाई समेट्न खोजेका छन् । उनले आइतबार पालुङटारमा विस्तारित बैठक उद्घाटन गर्दै फरक विचारलाई सम्बोधन गर्ने प्रयास गरेका हुन् । करिब ६ हजार कार्यकर्ताले खचाखच हलमा दाहालले वैद्यको जनविद्रोह र भट्टराईको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सम्बोधन गर्ने प्रयास गरेका थिए ।
उद्घाटन भाषणका क्रममा दाहालले पटक-पटक एकताको कुरा दोहोर्‍याउँदै नयाँ धरातलमा नयाँ एकता हुने दाबी गरे । 'संस्थागत एकताबाट हुने आन्दोलन निणर्ायक हुन सक्छ,' उनले भने, 'त्यसकारण एकताको कुनै विकल्प छैन ।'
उनले एकातिर युद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्नुपर्ने तथा अर्कातिर उपलब्धिमा टेकेर बाँकी क्रान्ति पूरा गर्नुपर्ने बताए । 'संविधानसभा भंग गराउने षड्यन्त्र हुँदैछ,' उनले भने, 'हालसम्म प्राप्त उपलब्धिमा टेकेर क्रान्तिको यान्त्रिक नक्कल गरेर होइन, विकास गरेर जानुपर्छ ।'
आफ्नो करिब ४० मिनेट लामो मन्तव्यमा नेताहरूबीच देखिएको आन्तरिक संघर्ष रूपान्तरण हुने उनले दाबी गरे । उनले पार्टीको एकता कहिल्यै कमजोर हुन नदिने प्रतिज्ञासमेत गरे । 'पार्टीको एकता कमजोर बनाउने सपना चकनाचुर हुनेछन्,' उनले भने, 'हामीले नयाँ आधारमा नयाँ एकता बनाउने विज्ञान सिकेका छौं ।'
दाहालले दुवै नेतालाई घुमाउरो भाषामा नेतृत्व दाबी नगर्न चेतावनी पनि दिए । 'सही विचार र सही नेतृत्व रातारात बन्दैन,' वैद्य र भट्टराईतिर संकेत गर्दै भने, 'रातारात हट्ने कुरा पनि हुँदैन ।'
यो विस्तारित बैठकले नयाँ कार्ययोजनासहित भावनात्मक एकता कायम गर्ने पनि उनले बताए ।
दाहालले त्यो कार्ययोजना सीधा बाटोबाट नहिँड्ने बताए । 'क्रान्ति सीधा बाटोजस्तो हुँदैन,' उनले भने ।
माओवादी अध्यक्षले भारतको नाम नलिई 'विदेशी हस्तक्षेप चरम भएको' बताए । 'राजनीतिक निकास दिने कुरामा कहाँ-कहाँबाट हस्तक्षेप भयो ?' उनले प्रश्न गरे, 'सामान्य समाचार लेखेकै भरमा पत्रिकालाई कहाँबाट नाकाबन्दी भयो ?'
उनले कांग्रेस, एमालेले शान्ति सम्झौताविपरीत संविधानसभा भंग गर्ने खोजेको आरोप लगाए । 'शान्ति सम्झौताविपरीत प्रहार गर्ने काम भइरहेको छ,' उनले भने, 'यो
बैठक प्राप्त उपलब्धि रक्षा गर्न केन्दि्रत हुनुपर्छ ।'
दाहालले संविधानसभा भंग गरे मुलुकमा महाविपत्ति आउने चेतावनी दिए । राजाले आफ्नो हातमा शासन लिनुअघि पनि दाहालले यही कुरा भनेको स्मरण गरे । 'मैले चुनबाङ बैठकअघि मुलुकमा महाविपत्ति आउँदै छ भनेको थिएँ,' उनले भने, 'यो विस्तारित बैठकका बेला पनि महाविपत्ति आउँदै छ भन्ने देखिएको छ,' उनले भने, 'को विजय र को पराजय हुने बैठकले फैसला गर्नेछ ।'
महासचिव रामबहादुर थापाले यो बैठकबाट निणर्ायक धक्का दिने कार्ययोजना ल्याउने बताए । 'यो सामान्य बैठक होइन, यसले संघर्ष, एकता र विजय जन्माउने छ,' उनले भने, 'त्यो कार्यदिशाले नयाँ नेपाल जन्माउने छ ।'
सचिव सीपी गजुरेलले माओवादीकै हातमा मुलुकको भविष्य भएको दाबी गर्दै भने, 'हामी हार्छौं भने हाम्रै कारणले हार्छौं, जित्छौं भने हाम्रै कारणले जित्छांै ।'
आइतबार बिहान बसेको स्थायी समिति बैठकले विस्तारित बैठकमा तीन दस्तावेज प्रस्तुत गर्ने र त्यसपछि मात्र तीनै नेताले स्पष्टीकरण दिने निर्णय गरेको थियो ।
'तीनवटै दस्तावेज प्रस्तुत गर्ने निर्णय भएको छ,' प्रवक्ता दीनानाथ शर्माले भने, 'सहमतिको आधारमा भएको हो ।' यसअघि दाहालले बैठकमा नयाँ दस्तावेज राख्ने तयारी गरेका
थिए । सोमबार सुरु हुने बन्दसत्रमा दाहाल, वैद्य र भट्टराईको फरक-फरक दस्तावेजमा छलफल हुनेछ । छलफल समूह-समूहमा हुनेछ ।

No comments: