News

Nov 28, 2010

इन्चोनमा भेट्ने वाचासँगै सकियो ग्वान्जाउ एसियाड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्वान्जाउ/ चार वर्षपछि दक्षिण कोरियाको इन्चोन सहरमा भेट्ने वाचा गर्दै शनिबार १६आँै एसियाली खेलकुदले बिदा लिएको छ । चीनको औद्योगिक सहर ग्वान्जाउमा १५ दिनसम्म चलेको एसियाडमा आयोजक राष्ट्र चीनकै एकाधिकार रह्यो । पदक-तालिकामा चीनले सर्वाधिक पदक जितेर आफूलाई एसियाको एक नम्बर खेलकुद टिम भएको प्रमाणित गर्नसमेत पछि परेन । उद्घाटन समारोहझैँ समापन पनि चीनले भव्य तथा उत्कृष्ट ढंगले गरेको थियो । इतिहासमा पहिलोपटक समापन समारोह रंगशालाबाहिर गरिएको थियो । प्रतियोगितामा एसियाका ४५ मुलुकका नौ हजार सात सय खेलाडीले ४२ खेलमा सहभागिता जनाएका थिए ।
दक्षिण-पूर्वी चिनियाँ सहर ग्वान्जाउमा सम्पन्न समापनको दृश्य हेर्न हजारौँ चिनियाँ पियर्स नदीको किनारमा उपस्थित भएका थिए । तीन घन्टाभन्दा लामो समापन कार्यक्रममा आयोजक चीनले आतिसबाजीमा कुनै कञ्जुस्याइँ गरेन । पूरै ग्वान्जाउ सहर आतिसबाजीमा झुमेको देखिन्थ्यो । ग्वान्जाउ एसियाली खेलकुद आयोजक समितिले एसियाड सफल पार्न विभिन्न राष्ट्र तथा घरेलु गरी १० हजार स्वयंसेवक खटाएको थियो । खेलकुद आयोजनाका लागि चिनियाँ सरकारले ४२ करोड अमेरिकी डलर खर्च गरेको थियो । जसमा चीनले नयाँ नौवटा विश्वस्तरीय रंगशाला तथा सडक निर्माणमा खर्चेको थियो । एसियाड आयोजनाबाट चीनले ४५ करोड अमेरिकी डलर आर्जन गरेको अनुमान गरिएको छ ।
समापन समारोह २७ हजार दर्शकले प्रत्यक्ष रूपमा मनोरञ्जन लिएका थिए । ग्वान्जाउका मेयर सु सेङले १६औँ एसियाड इतिहासकै उत्कृष्ट भएको दाबी गरेका छन् । 'पछिल्लो दुई साता ग्वान्जाउमा कुनै समस्या आएन, यो एसियाड इतिहासकै उत्कृष्ट आयोजनामध्ये पर्छ,' उनले भने, 'पूरै संसारले एसियाडबाट दक्षिण चिनियाँ संस्कृति बुझ्ने अवसर पायो ।'

No comments: