News

Nov 22, 2010

बालबालिकाको तस्करीलाई रोक्न अनुराधा सीएनएन हिरो


लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

विश्वनायक खोज्ने सीएनएनको चौथो शृंखलामा १२ हजारभन्दा बढी युवतीलाई यौनदासताबाट मुक्त गर्ने र महिला तथा बालबालिकाको तस्करीलाई रोक्न अभियान चलाउने माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला विजयी भएकी छिन्। उनलाई शनिबार राति अमेरिकाको लसएन्जल्समा सीएनएन हिरो २०१० घोषणा गरिएको थियो। सीएनएनका एन्डरसन कपरले अनुराधालाई सीएनएन हिरो घोषित गर्नासाथ अनुराधा खुसीले दुवै हात आकाशतर्फ हुत्याएर चिच्याएकी थिइन्। विश्वनायक हुनका लागि प्रतिस्पर्धामा रहेका दशै जनासँग सीएनएन हिरोज र त्यसको मुनि आफ्नो नाम लेखिएको कार्ड थियो। त्यसलाई उचाल्ने सौभाग्य भने अनुराधाले पाएकी थिइन्। कार्ड उचाल्दा शुरुमा खुसी देखिएको अनुहारमा विस्तारै दुःखका रेखाहरु देखिएका थिए। सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी अनुराधाको निधार पूरै खुम्चिएको थियो। सीएनएन नायक पदवी प्राप्त गरेपछि विस्तारै उनी शान्त बनिन्। सीएनएन हिरोका रुपमा सम्बोधन गर्न ड्यासमा उभिँदा उनका आँखामा आँसु देखिएको थियो। सम्बोधनका क्रममा दर्शकसामु उनी रोइन्। सीएनएन हिरोज अनुराधा कोइराला लेखिएको कार्डलाई छेउमा राख्दै उनले दश औँला जोडेर सबैलाई नमस्कार गरिन्। एउटा हातमा घडी अर्को हातमा केही चुरा र औँलामा औँठी लगाएकी अनुराधाले नेपाली पोसाक साडीचोलो पहिरिएकी थिइन् जुन उनको नेपालमा रहँदाको पनि पोसाक हो।

No comments: