News

Jan 12, 2010

सीमा विवाद माओवादीको सस्तो लोकप्रियता कमाउने दाउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ जनवरी, २०१०,माओवादीले भारतले सीमा क्षेत्र अतिक्रमण गरेको भन्दै बिभिन्न स्थानमा गरेको सभालाई सस्तो लोकप्रियता कमाउने दाउ भएको टिप्पणी गरिएको छ । विभिन्न कूटनीतिज्ञहरुले माओवादीले गरेको बिरोधसभालाई सस्तो लोकप्रियताका लागि नेपाल-भारत सीमा विवादलाई राजनीतिकरण गरेको टिप्पणी गरेका हुन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै कुटनितीज्ञहरुले विवादको समाधान बिरोधबाट नभई कुटनीतिक रुपमा नै समाधान खोजिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै पूर्व राजदूत डा लोकराज बरालले एकीकृत माओवादीले देखाएको अन्ध राष्ट्रवादले नेपालको हित नहुने टिप्पणी गरे ।उनले नेपालले खुला सीमाको राम्रो व्यवस्थापन गर्न नसकेको र खुला सीमा रहेसम्म यो समस्या रहिरहने भएकाले कुटनीतिक रुपमा नै यसको समाधान खोजिनु पर्ने बताए ।यस्तै अर्का वक्ता एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठले राजनीतिक भाषणबाजीभन्दा पनि विज्ञसमूह बनाएर समाधान खोज्नु पर्नेमा जोड दिए ।माओवादीको सीमा अनुगमनमा राजनीति र राष्ट्रियता दुबै गाँसिएको उनको भनाइ थियो । पूर्व राजदूत राजेश्वर आचार्यले माओवादीले सस्तो लोकप्रियताका निम्ति राष्ट्रियतासँग सीमाविवादको कुरा गाँस्न नहुने बताए । कालापानी नेपाल भारत र चीनको त्रिदेशीय सीमाका साथै सामरिक महत्वको भएकाले पनि संवेदनशील रहेको उनको भनँइ थियो ।परराष्ट्र मन्त्रालयका सल्लाहकार डा चिराजीवी नेपालले प्रचण्डजस्तो नेताले जुलुस लिएर सीमामा धाउनुको कुनै अर्थ नरहेको बताए । उनले नेपाल-भारत सम्बन्ध विगतमा भन्दा राम्रो रहेको र सीमालगायत अन्य विवाद कूटनीतिक रुपमा द्विपक्षीय छलफलको माध्यमबाट समाधान गरिने जानकारी दिए । कार्यक्रममा पूर्व राजदूत डा दुर्गेशमान सिंहले कूटनीतिक पहलमा समाधान हुने कुरालाई सस्तो राजनीतिक रंग दिँदा नेपाललाई फाइदा नगर्ने उनको धारणा थियो । यसैबीच कुटनीतिज्ञहरुको भनाईप्रति असहमति जनाउँदै माओवादीले भारत परस्त बोली भएको टिप्पणी गरेको छ। जनपुकारसँग कुरा गर्दै एक माओवादी नेताले राष्ट्रवादको नारा लिएर अघि बढ्दा सस्तो लोकप्रियता देख्नेहरु नै भारतपरस्त भएको दाबी गरे ।

No comments: