लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी पुस १८- कोशीपीडित सुकुम्बासीले आफनो सहमतिविपरीत जग्गा खरीद गरेको बिरोधमा पुस–२१ गतेदेखि अनिश्चितकालीन आमहड्ताल घोषणा गरेका छन्। प्रतिपरिवार दुई कट्ठा जग्गा दिने निर्णयबमोजिम जिल्ला दैवी प्रकोप उद्दार समिति सुनसरीले खरीद गरेको छ। सुकुम्बासीले भने आफ्नो सहमति विपरीत जग्गा खरीद गरेको भन्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार आमहड्तालको घोषणा गरेको जनाएका छन्।सुकुम्बासीले शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिपुरमा एक घण्टा चक्काजाम गरी आमहड्ताल घोषणा गरेका हुन्। सो क्रममा सुकुम्बासीले सरकारविरोधी नाराबाजी गर्दै जुलुस पनि प्रदर्शन गरेका थिए।२०६५ भदौ–२ गते कोशीले तटबन्ध भत्काउँदा सुनसरीको हरिपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकहीका १ हजार ४ सय २२ परिवार सुकुम्बासी भई विस्थापित भएका थिए। उनीहरुका लागि सरकारले ५० हजार रुपैयाँ बराबरको प्रतिपरिवार दुई कट्ठाका दरले जग्गा दिने निर्णय गरेको थियो।सुकुम्बासीले भने कि आफूहरुको सहमतिअनुसार जग्गा खरीद गरिदनुपर्ने कि त एकमुष्ट पैसा दिनुपर्ने बताएका छन्। कोशी कटान क्षेत्रमा अहिले बढीमा १० हजार रुपैयाँ कट्ठा जग्गा पर्ने गरेकोमा सोही जग्गा खरीद गरेर झारा टार्ने काम गरेको बाढीपीडित सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए। दैवी प्रकोप उद्दार समितिले पहिलो चरणमा २ सय ५२ परिवारका लागि हरिपुरमा जग्गा खरीद गरिसकेको छ। जग्गा खरीद गरी वितरण गर्न जिल्लाका सबै राजनीतिक दलको सहमति भए पनि सुकुम्बासीको नाममा राजनीति गर्ने केही व्यक्तिले उचालेर आमहड्ताल घोषणा गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए। उनले जग्गा खरीद गरी वितरण गर्न अधिकांस सुकुम्बासीको समेत सहमति रहेको दाबी गरे।सप्तकोशी बाढीपीडितलाई 'प्याकेजमा' एक अर्व ८४ करोड रुपैयाँ क्षतिपूर्ति दिने सरकारको निर्णयबमोजिम सुकुम्बासीका लागि सोही रकमबाट जग्गा खरीद गरी वितरण गर्न लागिएको हो।
No comments:
Post a Comment