लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २९ , क्यारेबियन देश हाइटीमा गएको ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट हजारौंको मृत्यु भएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पमा परी राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत एक नेपाली सैनिक घाइते भएका छन् भने राष्ट्रसंघीय मिसनका प्रमुख र उपप्रमुखको अवस्था अज्ञात छ। सैनिक प्रवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले क्षतिग्रस्त राष्ट्रसंघीय मुख्यालयमा कार्यरत ११ जना नेपाली सेनामध्ये एक घुँडा फ्रयाक्चर भएको जनाए। उनका अनुसार हाइटीमा चन्दननाथ गणका ७१८, सेर गणका ३५० र राष्ट्रसंघीय मुख्यालय सुरक्षार्थ ११ नेपाली सैनिक शान्ति मिसनमा तैनाथ छन्। घाइते नेपालीको परिचय भने खुलेको छैन। नेपाल प्रहरीका ५४ वरिष्ठ अधिकारी हाइटीको राजधानीमा तैनाथ रहेको एक प्रहरी अधिकारीले बताएका छन्। त्यसैगरी राजधानीबाट २०० किलोमिटर टाढा नेपाल प्रहरीका १ सय ४० जना तैनाथ रहेको नेपाल प्रहरीका युन डेस्कका अधिकारी अपिल बोहराले जानकारी दिए। उनीहरुबारे जानकारी आउन बाँकी छ। मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने एजेन्सीहरुले बताएका छन्। राजधानी पोर्ट ओ प्रिन्सको मध्य भागमा निकै ठूलो विनाश मच्चिएको त्यहाँबाट प्राप्त समाचारमा बताइएको छ। राष्ट्रपति निवास, संयुक्त राष्ट्र संघको शान्ति मिसनको मुख्यालय र अस्पतालहरुमा पनि निकै क्षति पुगेको छ। बीबीसीले प्रत्यक्षदर्शीहरुलाई उदधृत गर्दै जनाए अनुसार भूकम्पपछि त्यहाँ कोलाहलको वातावरण छ। आकाशमा धुलैधुलो उडेको देखिएको छ। चित्कारका बीच मानिसहरु भत्केको भवनहरुमा थिचिएकाहरुलाई निकाल्ने कोशिश गरिरहेका छन्। हाइटी उत्तर अमेरिकी महादेशको क्यारेबियन क्षेत्रको एउटा सानो देश हो। विश्वका गरिब देशहरुको सूचिमा रहेको यो देश भर्खरै गृहयुद्धबाट गुज्रेको हो। इन्टर अमेरिकन डेभलपमेन्ट बैँकले हाइटीलाई दुई लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। भूकम्पको केन्द्र राजधानीबाट १५ किलोमिटर दक्षिणपश्चिममा रहेकोले राजधानीमा अत्याधिक क्षति पुगेको छ। स्थानीय समय अनुसार साँझ चार बजेर ५३ मिनेट जाँदा ७ दशमलव ३ रेक्टर स्केलको पहिलो भूकम्पको धक्का महसूस गरिएको थियो। त्यसपछि ५ दशमलव ९ र ५ दशमलव ५ रेक्टर स्केलका थप दुई धक्का महसूस गरिएका थिए।
No comments:
Post a Comment