लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २० ,संविधानसभाको संवैधानिक समितिले तयार पारेको संविधानको प्रारम्भिक अवधारणापत्र संविधानसभाका अध्यक्ष सुभास नेम्वाङलाई बुझाएको छ । संविधान लेखनमा क्रियाशील एघारवटामध्ये योसमेत नौवटा समितिले अवधारणा बुझाएका छन् । सिंहदरबारमा सोमबार प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष नेम्वाङले संविधान निर्माणकार्यलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राविधिक कुरा मिलाएर यो मस्यौदालाई पूर्ण बैठकमा छलफलका लागि लगिने जानकारी दिँदै यस अवधारणाको तयारीले संविधान निर्माणमा नयाँ आधार तयार भएको बताउनुभयो । अन्तरिम संविधानका भरमा लामो समयसम्म चल्न नसक्ने स्पष्ट गर्दै अध्यक्ष नेम्वाङले पार्टीहरू झन् एकता र सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । यो प्रतिवेदनमाथिको छलफल सकिएलगत्तै संविधानको प्रारम्भिक मस्यौदा प्रस्ताव तयार गर्ने कार्य सुरु हुने र त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न समितिलाई सफलता मिलोस् भनी शुभकामना दिनुभयो । समितिका सभापति नीलाम्बर आचार्यले सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।
No comments:
Post a Comment