लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २० ,अस्थायी शिविरहरूमा रहेका अयोग्य लडाकूहरूलाई यही पुस २३ गतेदेखि बिदाइ गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनले अयोग्य ठहर्याएका चार हजार आठ अयोग्य लडाकूलाई प्याकेजसहित बिदाइ गर्ने तयारी भएको हो । सातवटै अस्थायी शिविरमा रहेका उनीहरूलाई एक महिनाभित्रमा शिविरबाट बाहिर ल्याउने तयारी गरिएको छ । अयोग्य लडाकूहरूलाई उनीहरूको इच्छाअनुसार व्यावसायिक एवं सीपमूलक तालिम र १२ कक्षासम्म अध्ययन गर्न सहयोग प्रदान गरिने बताइएको छ । अयोग्य लडाकू बहिर्गमन तथा पुनस्र्थापनासम्बन्धी निर्देशक समितिको सोमबार भएको बैठकले अयोग्य लडाकूको बहिर्गमन तथा पुनस्र्थापनाको योजना बनाएको हो । अनमिनको प्रमाणीकरणलगत्तै अयोग्य लडाकूले शिविर छोड्ने सहमति भए पनि माओवादीको असहयोगका कारण त्यो सफल हुन नसकेको बताइएको थियो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका संयोजक तथा शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले सिन्धुलीको २ नम्बर डिभिजनबाट बहिर्गमन प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । बैठकमा शान्ति तथा पुनःनिर्माण मन्त्री चेम्जोङ, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव विनोद पहाडी, अनमिन प्रतिनिधि कल्र्हन जोन्स, यूएनडीपीका रोवर्ट पाइपरलगायतको सहभागिता थियो । २३ गते बिदाइ हुने सबै अयोग्य लडाकू अघिल्लो दिन नै शिविरमा भेला भइसक्ने र उनीहरूलाई यातायात तथा बाटोखर्चसहित बसपार्कमा लगेर छाडिनेछ । उक्त खर्चका साथै लडाकू पुनःस्थापना प्याकेजको रकम संयुक्त राष्ट्रसङ्घीय शान्ति कोषबाट प्रदान गरिनेछ ।अयोग्य लडाकूलाई परिचयपत्र प्रदान गरिनेछ र सोका आधारमा एक वर्षभित्र तोकिएको स्थानमा सम्पर्क राखेर उनीहरूले इच्छा लागेको तालिम वा अध्ययनको सुविधा लिन सक्नेछन् । अयोग्य लडाकूहरूलाई माओवादी, अनमिन र सरकारका प्रतिनिधिको छलफलबाट तयार पारिएको प्लान अफ एक्सनअनुसार बिदाइ गर्न लागिएको र प्याकेज पनि तीनै पक्षको सहमतिमा तयार पारिएको मन्त्री चेम्जोङले बताउनुभयो । उहाँले उनीहरूलाई अर्धसैनिक सङ्गठनमा राख्न र इच्छाविपरीत अन्य उद्देश्यका लागि प्रयोग गर्न नपाइने बताउँदै त्यसको अनुगमन र निरीक्षण अनमिनले नियमित रूपमा गर्ने स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment