लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले बेलायत सरकारले आफूहरूमाथि विभेद गरेकाले त्रिपक्षीय सन्धिअनुसार तत्काल संयुक्त अधिराज्य बेलायतसँग वार्ताको पहल गर्न माग गरेका छन् ।नेपाल, भारत र बेलायतबीच ९ नोभेम्बर १९४७ मा भएको त्रिपक्षीय सन्धिका कतिपय प्रावधानहरू कार्यान्वयन नै नभएका र सन्धि धेरै पुरानो पनि भएकाले यस्तो आग्रह गरिएको हो । ब्रिटिस सैनिकहरूले गोराहरूसरह सुविधाको माग गर्दै आएका छन् ।शनिबार यहाँ आयोजित 'भूतपूर्व ब्रिटिस गोर्खा सैनिक समस्या समाधान' विषयक अन्तक्रिर्या कार्यक्रममा दिइएको जानकारीअनुसार बेलायत सरकारले आफ्नो राष्ट्रिय सेनाबाट अवकाश दिएका गोर्खा सैनिकहरूलाई अधिकारकै रूपमा आवासीय सुविधा दिए पनि पेन्सन, क्षतिपूर्तिलगायतका अन्य कल्याणकारी सुविधामा विभेद रहेको बताइयो ।युद्धविधवा र बिनापेन्सन फर्काइएका १० हजारभन्दा बढी गोर्खा भेट्रानले कल्याणकारी कोषमार्फत नगण्य च्यारिटी पेन्सनबाहेक अन्य सुविधा नपाएको जानकारी दिइयो । आफ्ना अधिकार स्थापित गर्न पूर्वगोर्खाहरूले नौबुँदे माग पनि अगाडि सारेका छन् ।ती मागमा त्रिपक्षीय सन्धि पुनरावलोकन, निवृत्तिभरणमा समानता, क्षतिपूर्तिको माग, कटौतीमा परेका र विधवाको समस्या, स्वास्थ्य सुविधा, आवासीय भिसाबाट उत्पन्न जटिलता, पाउन्ड स्टर्लिङमा निवृत्तिभरण हुनुपर्ने, ब्रिटिस गोर्खाहरूका छोराछोरीको नागरिकता समस्या, दोहोरो नागरिकतालगायत रहेका छन् ।
No comments:
Post a Comment