News

May 25, 2010

प्रतिलिपि अधिकार प्रावधानप्रति स्रष्टाको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, जेठ ११,सर्जकको रचना चोरिएमा मालसमान चोरीझैं प्रहरीमा उजुरी गर्ने प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालयको प्रावधानप्रति पूर्वाञ्चलका सरोकारवालाले आपत्ति जनाएका छन्। काठमाडौंबाहिर रजिस्ट्रार कार्यालय नभएकाले रचना चोरिए नजिकको प्रहरी कार्यालयमा उजुरी गर्ने प्रावधान छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले भने हालसम्म रचना चोरीको उजुरी नपरेको जनाएको छ।
प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले शनिबार गरेको कार्यक्रममा सहभागी स्रष्टाले रचना चोरी हुँदा प्रहरीकहाँ उजुरी गर्ने प्रावधान सच्चाउन माग गरेका छन्। मालसमानभन्दा सिर्जना बहुमूल्य हुने भएकाले प्रहरीले दिलाउने क्षतिपूर्तिबाट स्रष्टालाई न्याय नहुने उनीहरूको तर्क छ।‘राजनीतिक दबाब र समाजिक परिवेशमा बाँधिएका प्रहरीले प्रतिलिपिको अधिकार संरक्षण गर्न सक्दैन,' वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेलले भने, ‘प्रहरीमा उजुरी गर्नुभन्दा प्रतिलिपि अधिकार कार्यालयको विस्तार गर्नुपर्छ।' पोखरेलले हरेक अञ्चलमा प्रतिलिपि अधिकारको कार्यालय र केन्द्रमा आफ्नै न्यायाधीश र न्यायालय हुनुपर्ने माग गरे।
प्राज्ञ कृष्णभूषण बलले लेखन, नाटक र संगीतमा चोरी बढेको दाबी गर्दै मालसमान चोरीझैं प्रहरीमा उजुरी र क्षतिपूर्तिको व्यवस्था गरिएकोमा आपत्ति जनाए। ‘प्रहरीमा उजुरी गर्ने व्यवस्थाले मात्र पुग्दैन, प्रतिलिपि अधिकार कार्यालयलाई अधिकार सम्पन्न बनाउनुपर्छ।' एउटाको रचना अर्काले चोरी गर्ने परिपाटी बढेको बताउँदै कवयित्री गंगा सुवेदीले रेडियो र टेलिभिजनमा गीत, संगीत बजाउँदा रोयल्टी तिर्नुपर्ने व्यवस्था गर्न माग गरिन। नेपाल बार एशोसिएसनका उपाध्यक्ष सीताराम राईले रचना चोरीको विषयलाई बहसमा ल्याउनुपर्ने बताए।
सयभन्दा बढी स्रष्टाको सहभागिता रहेको कार्यक्रममा प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार वीरबहादुर राईले काठमाडौं, पोखरा, चितवन र नेपालगन्जमा प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा दायर भई केहीको फैसलासमेत भएको जानकारी दिए। महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा. टंक न्यौपानेले प्रतिलिपी अधिकार संरक्षणमा सर्जक सजग हुनुपर्ने बताए।

No comments: