News

May 18, 2010

नेपालीभाषीलाई मेघालय २४ घन्टाभित्र छाड्न उर्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी (भारत),जेष्ठ ४,पूर्वोत्तर भारतको मेघालय र असमको सीमावर्ती लांगपीका अल्पसंख्यक नेपालीभाषीलाई त्यहाँका बहुसंख्यक खासीले २४ घन्टाभित्र छाड्न उर्दी जारी गरेका छन् । खासी जातीय संगठनका अध्यक्ष प्रयांकी खारुमनुइदले तत्काल उक्त स्थान छाड्ने चेतावनी दिएका हुन् । आइतबार मेघालय र असमको सीमाको विवादित लांगपी गाउँमा स्थानीय नेपालीभाषी र खासीबीच झडप भएको थियो । लांगपीलाई असाम र मेघालय दुवैले आ-आफ्नो स्वामित्वमा पर्ने बताउँदै आएका छन् । 'झडपको मुख्य विवादै यही हो,' मेघालयबाट प्रकाशन हुने 'सपरिवार' नेपाली म्यागेजिनका सम्पादक रोहित गौतमले भने, 'त्यो विवादले यत्रो रूप लेला भन्ने सोचेकै थिएनौं ।'
उनका अनुसार सो स्थानमा नेपाली र खासीबीचको झडपले उग्र रूप लिएपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । त्यसमा ७ जना खासीको मृत्यु भएको थियो भने करिब २६ नेपालीभाषी घाइते भएका थिए । नजिकैको सिंघारीहाटको कोइलाखानीका मजदुर घटनामा घाइते भएका छन् । सोही विषयलाई लिएर खासीले लांगपी र जुवाई इलाकाका नेपालीलाई उर्दी जारी गरेको हो । मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीका अनुसार घटनापछि खासीले नेपालीभाषीमाथिको आक्रमण तीव्र पारेका छन् । 'घर जलाइदिने, जागिर छाड्न दबाब दिनेलगायतका गतिविधि जारी छ,' जोशीले फोनबाट कान्तिपुरलाई भने, 'नेपालीभाषीहरू अहिले त्रस्त छन् ।' उनका अनुसार खासीले जतिबेलै जे पनि गर्न सक्ने चेतावनी दिएकाले नेपालीभाषीहरू घरबाट निस्किन सकेका छैनन् ।
'घरमा बसेकालाई पनि धम्क्याउने र कुट्ने काम भएको छ,' जोशीले भने । सोही घटनामा संलग्न भएको आरोपमा तेह्रथुमका हर्कबहादुर तामाङ र विदुर उपाध्यायलाई खासीहरूले मरणासन्न हुने गरी कुटपिट गरेको अर्का स्थानीय पत्रकार नन्द देवानले जानकारी दिए । घाइतेद्वय कोइलाखानीका मजदुर हुन् । घटनापछि त्यहाँको कोइलाखानीमा कार्यरत मजदुरहरू भाग्न थालेका छन् ।
विगतमा पनि यो क्षेत्रमा नेपाली र खासीबीच पटक-पटक विवाद हुँदै आएको थियो । मेघालयमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशत नेपालीभाषी बसोबास गर्छन् । प्रहरीले असममा समेत सुरक्षा व्यवस्था कडा बनाएको छ ।

No comments: