News

May 18, 2010

मूर्ति तस्कर र बलात्कारी अभियुक्तलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, ३ जेठ,रुपन्देहीका विभिन्न घटनामा संलग्न भएको अभियोगमा प्रहरीले आठजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । गौतम बुद्धका ऐतिहासिक मूर्तिको तस्करी गर्नेदेखि लागूऔषधको कारोबार गर्ने तथा जबर्जस्ती करणीसम्मका अभियुक्तलाई प्रहरीले पक्राउ गरी सोमबार बुटवलमा सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेका अभियुक्तमा मूर्ति चोरी गर्ने रुपन्देही देवदह खैरेनीका विकास बोहरा, औषधको कारोबार गर्ने बुटवल-१३, नहरपुरका विवेक गुरुङ, बुटवल-१३ देवीनगरका झट्का भन्ने विष्णु गिरी, मक्रहर-६ रुपन्देहीका भीम पचभैया छन् । त्यस्तै लागूऔषध सेवन गरेको अभियोगमा बुटवल-१३ बुद्धनगरका प्रेम पुन र बुटवल-१५ बेलबासका दीपक उप्रेतीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
त्यस्तै, १३ वर्षकी नाबालिकालाई करणी गरेको अभियोगमा बुटवल-५ बस्ने जीवन भन्ने सोम थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि आफ्नै श्रीमतीलाई जिउँदै आगो लगाउने पाल्पा दोभान-२ झुम्सा घर भई बुटवल-११ कालिकानगर बस्ने टीकाराम बुढाथोकीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले पक्राउ परेका आठजना अभियुक्तमध्ये गुरुङ लागूऔषध ब्राउनसुगरको बुटवलको डिलर सञ्चालक रहेको बताए । गुरुङले भारतबाट नेपालमा लागूऔषध ल्याई बिक्री वितरण गर्ने गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।
उनले दुई सयदेखि पाँच सय रुपैयाँसम्ममा ब्राउनसुगरका पुरिया बेच्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तबाट २२ हजार आठ सय ८५ रुपैयाँ नगद र चार थान मोबाइल सेट बरामदसमेत गरेको छ ।

No comments: