News

May 31, 2010

तीनबुँदे सहमतिको लागि दलहरूले छलफल प्रारम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको म्याद थपका लागि प्रमुख तीन दलबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका लागि दलहरूले छलफल प्रारम्भ गरेका छन्। संविधानसभाको म्याद सकिनुभन्दा केही घण्टाअघि मात्रै भएको तीनबुँदे सहमतिमा पनि दलहरूबीच आ-आफ्नो बुझाइ रहेकाले त्यसलाई प्रस्ट पार्न आइतबार एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको बैठक संविधानसभा भवनमा बस्यो। माओवादीका तर्फाट लगातार प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दिनभित्र राजीनामा दिने व्याख्या हुन थालेपछि कांग्रेस र एमालेले सहमतिका तीनवटा सहमति सँगसँगै हुने व्याख्या गरेका हुन्।माओवादीले सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहेको विषयलाई मात्र प्राथमिकता दिने र कांग्रेस तथा एमालेले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन त्यससँग सम्बन्धित बाँकी कामहरूलाई अविलम्ब सम्पादन गर्न तथा संविधान निर्माणको जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अगाडि बढ्ने कुरालाई प्राथमिकता दिने गर्दा सहमति भएलगत्तै फेरि असहमतिको वातावरण शुरू नहोस् भनेर शीर्ष नेताहरूबीच छलफल भएको थियो।माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दलका शीर्ष नेताको बैठकमा तीनवटा एजेन्डाको बुझाइ र त्यसको व्याख्याका बारेमा छलफल भएको बताउनुभयो। बैठकले तीन बुँदामा भएको बुझाइको अहसमति हटाउने र स्पष्ट पार्ने कामको शुरूआत गरेको नेता श्रेष्ठले बताउनुभयो।उहाँले शान्ति र संविधानलाई केन्द्रमा राखेर पर्रार्मश भएको बताउनुभएको छ।नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले शान्ति प्रक्रियासँग जोडिएर आएका विषयका बारेमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्रीको राजीनामाको विषय प्याकेजमा जोडिएर आएकाले राजीनामा तत्कालै नहुने बताउनुभयो। ‘शान्ति र संविधानका विषयमा प्याकेजमा नै सहमति हुनासाथ प्रधानमन्त्रीको राजीनामा आइहाल्छ’ -महामन्त्री निधिले भन्नुभयो। कांग्रेस र एमालेले शान्ति प्रक्रियाको कार्यतालिकामा माओवादीद्वारा कब्जा घरजग्गा सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैन्य संरचना विघटन, शान्ति प्रक्रियासँग सम्बन्धित आयोग र समितिहरूको गठन, विगतका सहमतिको कार्यान्वयनलगायतका विषय पर्ने महामन्त्री निधिले बताउनुभयो।

No comments: