News

May 16, 2010

आफ्नै श्रीमती बिक्री गर्न तयार एक शिक्षक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नुवाकोट, जेठ २ - आफ्नै श्रीमती रु.दुई लाख पचास हजारमा बिक्री गर्न तयार भएका एक शिक्षकलाई कारबाही हुनुपर्ने माग राख्दै नुवाकोट जिल्ला तारुका गाविसका सर्वसाधारण आज जिल्ला शिक्षा कार्यालय, नुवाकोट आइपुगेका छन्।
तारुकास्थित पिमलटार माविका शिक्षक गणेशप्रसाद अधिकारीले आफ्नी १७ वर्षीया श्रीमतीलाई धादिङ जिल्लाको पिडा गाविसका एक व्यक्तिलाई बिक्री गर्न लागेको थाहा पाएपछि केटीका अभिभावक, गाउँले र उनको विद्यालयका अन्य शिक्षकहरूले अधिकारीलाई कारबाही हुनुपर्ने माग राखेका हुन्।
पिमलटार माविमा पढाउने तारुका-१ का ४३ वर्षीय शिक्षक अधिकारीले सोही विद्यालयमा कक्षा-८ मा पढ्ने धादिङ जिल्ला कल्लेरी गाविस- रिछापका प्रतिमा आलेमगरसँग तीन महिनाअघि विवाह गरेका थिए।
कक्षा ५ मा अध्ययन गर्दादेखि नै शिक्षकले यौन सम्बन्ध राख्दै आएको उनीहरूको बारेमा गएको माघ महिनामा पोल खुलेपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति र गाउँलेले उनीहरूको विवाह गराएर कागज गरेका थिए।
विवाहपछि धादिङ गएर बसेका शिक्षक अधिकारीले श्रीमती बिक्रीका लागि मोलतोल गरेको सार्वजनिक भएपछि श्रीमती भागेर माइतमा आई बसेकी पिमलटार मावि तारुकाका शिक्षक जनकराज ढुङ्गानाको भनाइ छ।
विद्यार्थीसँग अनुचित सम्बन्ध राखेको र श्रीमती बिक्रीको प्रयास गरेको भन्दै विद्यालयले उनलाई विद्यालय जान रोक लगाएपछि उनले रसुवा जिल्लामा सरुवा माग गरेको र शिक्षा कार्यालयले दिएको कारण रसुवा फिर्ता गराउन शिक्षक तथा अभिभावक शिक्षा कार्यालय आएका हुन्।
बिक्री प्रयास भएपछि ती दम्पती हाल छुट्टै बसेका छन्।

No comments: