News

May 25, 2010

मलेसिया पुगेका १० जना नेपाली क्वालालम्पुरमा अलपत्र 

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गुल्मी, १० जेठ,वैदेशिक रोजगारका लागि मलेसिया पुगेका गुल्मी र अर्घाखाँचीका १० जना नेपाली क्वालालम्पुरमा अलपत्र परेका छन् । काठमाडौंस्थित महालक्ष्मी म्यानपावरबाट गत २७ वैशाखमा मलेसिया गएका गुल्मी बलिथुमका प्रेम पराजुली र अर्घाखाँची जुकेनाका विनोद पौड्यालसहित १० जना नेपाली अलपत्र परेका हुन् ।
मलेसियामा रहेका एजेन्टले यहाँबाट कामका लागि गएको कम्पनीमा नलगी जंगलमा लगेर छाडेपछि उनीहरू अलपत्र परेका हुन् । उनीहरूलाई क्वालालम्पुरबाट आठ घन्टाको दूरीमा पर्ने क्वालन्तान सहरनजिकैको जंगलमा लगेर छाडिदिएको गुल्मी रुरु- ८ घर भई हाल मलेसियामा रहेका पत्रकार विष्णु न्यौपानेले बताए ।
जंगलमा तीन दिनसम्म भोकै बसेपछि क्वालालम्पुरस्थित नेपाली रेस्टुरेन्ट-जिरेखुर्सानीका सञ्चालक देव छन्त्यालले उद्धार गरी उनीहरूलाई क्वालालम्पुर ल्याएको र हालसम्म सोही रेस्टुरेन्टमा अलपत्र परेको न्यौपानेले जानकारी दिए ।
गुल्मी बलिथुमका प्रेम पराजुली र हरिराम भण्डारी, अर्घाखाँची जुकेनाका विनोद पौड्याल र नेत्रप्रसाद आचार्य, अर्घाका उत्तम केसी र वसन्त खत्री, नरपानीका मेखबहादुर पाण्डेय, सितराका श्रीराम मल्ल र डिल्लीराज भुसाल मलेसियामा अलपत्र छन् ।
आफूहरूलाई अर्घाखाँची अर्घा गाविसका माधव पौड्याल र रेडियो देउरालीमा काम गर्ने बताउने उमेश न्यौपानेले मलेसिया पठाएको पीडितले बताएका छन् । घर फर्किने पैसा र पासपोर्टसमेत नभएकाले एजेन्टबाट पासपोर्ट फिर्ता गरी घर र्फकने वातावरण मिलाइदिन पीडितले सम्बन्धित निकायमा आग्रह गरेको न्यौपानेले जानकारी दिए ।

No comments: