News

May 29, 2010

१५ सुरक्षाकर्मी विभागीय कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु/ चेकजाँचमा बेवास्ता गर्दै भारतीय मन्त्रीलाई हतियारसहित कपिलवस्तु प्रवेश गर्न दिएको आरोपमा १५ प्रहरी विभागीय कारबाहीमा परेका छन् । गत ८ जेठमा भारतको उत्तरप्रदेशकी महिलाकल्याणमन्त्री विन्दा चौधरी भारतीय प्रहरीसहित कृष्णनगरबाट चन्द्रौटा आएकी थिइन् । भारतीय मन्त्री नेपाल छिर्ने लिंक गेटमा खटिएका जनपदका ६ र सशस्त्र प्रहरीका नौ गरी १५ जना सुरक्षाकर्मी विभागीय कारबाहीमा परेका हुन् ।
चेकजाँच पनि नगर्ने र जिल्लालाई कुनै जानकारी पनि नगराएर लापरबाही गरेकाले प्रहरी सहायक निरीक्षक रणबहादुर कुँवरसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालयले फिर्ता बोलाएर स्पष्टीकरण लिएको छ । उनीहरूसँग सोधपुछ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक शरद चन्दले जानकारी दिए ।
त्यस्तै सशस्त्र सुरक्षा बेसक्याम्प कृष्णनगरमा कार्यरत एक सशस्त्र प्रहरी सहायक निरीक्षकसहित नौ सशस्त्र प्रहरीसमेत विभागीय कारबाहीमा परेका छन् । उनीहरूलाई पनि सशस्त्र सीमा कार्यालय तौलिहवामा झिकाइएको छ । सो घटनामा लापरबाही गरेको देखिएकाले उनीहरूमाथि करबाही चलाइएको सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर रावलले बताए । मन्त्री चढेको युपी५०टी ४८८४०० नम्बरको गाडी र ११ जना सुरक्षाकर्मीसहित उनीहरू नेपाल प्रवेश गरेका थिए ।

No comments: