News

May 27, 2010

माओवादीको संविधानसभाको म्याद नथप्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १३,माओवादीले शान्ति र संविधानको सुनिश्चितता नभएसम्म संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । म्याद थपबारे निर्णय गर्न बिहीबार बसेको माओवादी स्थायी समिति बैठकले यथास्थितिमा म्याद नथप्ने अडान दोहोर्‍याएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले शान्ति र संविधानको बाधक वर्तमान सरकार रहेकाले उसले राजिनामा नदिएसम्म संविधानसभाको म्याद थप्नुको औचित्य नहुने निर्णय गरेको छ । माओवादीले प्रधानमन्त्री, संवैधानिक समितिको सभापति र सभामुख पनि सत्तारुढ दलकै भएकाले संविधानसभा विघटन भए त्यसको जिम्मा स्वयं सरकारले लिनुपर्ने ठहर गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
गतिरोधको निकास निकाल्न बसेका बैठकमा कांग्रेस-एमालेका नेताहरु ६ महिना अगाडिकै अवस्थामा प्रस्तुत हुने गरेको शर्माले बताए । 'यहि अवस्थामा वार्ताको औचित्य पनि झण्डै झण्डै समाप्त भएको छ,' उनले भने । शर्माले बिहीबार हुने भनिएको तीन दलीय वार्ता हुने सम्भावना कम रहेको जानकारी दिए । संविधानसभाको म्याद थपबारे माओवादीले राखेका सर्त सत्तारुढ कांग्रेस र एमालेले बुधबारको बैठकमा पनि अस्वीकार गरेपछि नयाँ धारणा तय गर्न बैठक बोलाइएको थियो ।

No comments: