News

May 31, 2010

हङकङ नेपाली साहित्य संगोष्ठी सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/हङकङ
३० मई, २०१०, एभरेष्ट साप्ताहिकको दशौं बाषिर्क उत्सवको उपलक्ष्यमा याउ मा तेइ कम्युनिटी हलमा "प्रथम हङकङ नेपाली साहित्य संगोष्ठी" सम्पन्न भएकोछ । नेपालबाट आउनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री तिल विक्रम नेम्वाङ "वैरागी काइला"को प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघका सदस्य राजकुमार दिक्पालको आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता एभरेष्ट साप्ताहिकका सम्पादक तथा प्रकाशक किसन राईले गर्नु भएको थियो ।
कार्यक्रममा कुलपति वैरागी काइँलाको हातबाट पाहुर साहित्यिक त्रैमासिक पत्रिकाको पनि बिमोचन गरिएको थियो । त्यसैगरि कार्यक्रममा सृजनशील अराजक कवि हाङयुग अज्ञातले "नेपाली साहित्यमा डायस्पोरा" बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि कवि भोगेन एक्ले र प्रदिप कन्दङवाले लिखित रूप टिप्पणी गर्नु भएको थियो भने कवि शरण सुब्बा र टंक सुब्बाले मौखिक टिप्पणी गर्नुभएको थियो । उक्त कार्यक्रममा रिता गुरुङ, हिमकला राई र भुपेन्द्र चेम्जोङले कविता बाचन गर्नुभएको थियो ।
स्वागत मन्तब्य दिदै किसन राईले एभरेष्ट साप्ताहिकले नेपाली साहित्यमा गर्न खोजेको योगदानबारे चर्चा गर्नुभयो । कार्यपत्र प्रस्तोता हाङयुग अज्ञातले डायस्पोराको अर्थ केलाउँदै यसको प्रचलित ब्याख्याहरूप्रति सहमती, असहमती र आग्रहहरूको चर्चा गर्नुभयो । हामीले प्रवासमा लेखिएका हरेक साहित्यलाई डायस्पोराको एउटै दृष्टिले नहेरी सास्कृतिक र जातिय समालोचनाको दिमाकले हेरिनु पर्ने जिकीर वहाँले गर्नुभयो ।
कुलपति बैरागी काइँलाले नेपाली साहित्य खस जातिको मात्र पेवा नभएर यो सर्बजातीय हुनुपर्ने बताउनु भयो । हामीले लेखिने साहित्यमा सिमान्तकृतबर्गको आवाजलाई समेट्नुपर्ने आवश्यक्ता औल्याउदै राज्यको एकल जातीय पुर्बाग्रहले साहित्यमा सृजनशील अराजक समूहको जन्म भएको कुरा स्पष्ट पार्नुभयो । वहाँले यो अराजक शब्द सुन्दा नकारात्मक लागेपनि यो साहित्यको बिनीर्माणको रुपमा आएको तथ्य केलाउँदै यस समूहका एक अभियन्ता हाङयुग अज्ञातको प्रतिभामाथि पनि प्रकाश पार्नुभयो । हङकङमा रहेका नेपालीहरूको सन्दर्भमा उनीहरूलाई राज्य पक्षबाट भएको उपेक्षा र यहाँ अल्पजाति माथि भइआएको भेदभाव जस्ता कुराहरूको दोहोरो मार परेको तथ्य चर्चा गर्दै अबको दिनमा प्रतिष्ठानले डायस्पोरामा लेखिदै आइएका नेपाली साहित्यलाई हेर्ने बेग्लै बिभागको ब्यबस्था गरिने कुरा बताउनु भयो ।

No comments: