News

May 21, 2010

क्याम्पसप्रमुखलाई मोसो दली जुत्ताको माला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महोत्तरी/ याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठ मटिहानीका प्रमुख ताराकान्त झालाई विद्यार्थीले बिहीबार मोसो दली जुत्ताको माला लगाइदिएका छन् । क्याम्पसमा नयाँ प्राध्यापक भर्नामा अनियमितता गरेको भन्दै विद्यार्थीले प्राचार्य झालाई क्याम्पसहाताभित्रै मोसो दलेर जुत्ताको माला लगाइदिएका हुन् ।
प्राचार्य झा दुई महिनादेखि बन्द रहेको क्याम्पस खुलाउन जलेश्वरबाट मटिहानी आउँदा आक्रोशित विद्यार्थीले दुव्र्यवहार गरेका थिए । उनलाई सशस्त्र प्रहरीले उद्धार गरी सदरमुकाम जलेश्वर ल्याएको सशस्त्र सीमा सुरक्षा बल जलेश्वरका प्रहरी उपरीक्षक जनकबहादुर बोहराले बताए ।
विद्यापीठमा दुई महिनाअघि निकालिएको करार प्राध्यापक नियुक्तिमा प्राचार्य झाले प्रतिप्राध्यापक एक लाख रुपैयाँका दरले घुस लिई नियमविपरीत अयोग्य प्राध्यापकलाई परीक्षामा उत्तीर्ण गराएको विद्यार्थीको आरोप छ । क्याम्पसमा भएको आर्थिक अनियमितता छानबिनको माग गर्दै आन्दोलित विद्यार्थीले दुई महिनाअघि क्याम्पसमा तालाबन्दी गरेका थिए ।
प्राचार्य झाको निलम्बन र झाले नियुक्त गरेका प्राध्यापकको नियुक्ति बदरको माग गर्दै विद्यार्थीले सर्वोच्च अदालतमा दिएको मुद्दा अहिले विचाराधीन छ ।

No comments: