News

May 29, 2010

यसरी भयो दलहरुको सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिहानैदखि प्रमुख तीन दलबीच निरन्तर वैठकहरु भइरहे पनि अबेरसम्म सहमति नजिक पुगेका थिएनन् । अन्तिम समयमा प्रमुख प्रतिपक्षी माओवादी र सत्ताधारी कांग्रेस/एमाले आ-आफ्ना अडानमा क्रमशः लचिलो बन्दै गएपछि सहमति सम्भव भयो ।
शुरुमा माओवादीले संविधानसभाको म्याद थप्न प्रधानमन्त्रीको राजिनामा शर्तका रुपमा राखेको थियो भने कांग्रेस/एमालेले प्याकेजमा सहमति हुनुपर्ने अडान लिएका थिए । साँझ परेपछि माओवादीले १५ दिनभित्र प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने प्रस्ताव गर्‍यो । कांग्रेस/एमाले भने टसमस भएनन् ।
दलहरुबीच द्विपक्षिय, त्रिपक्षिय र बहुपक्षिय वार्ता हुँदै गयो, कांग्रेस/एमाले पनि लचिलो बन्दै गए । कांग्रेस/एमालेले सहमतिपत्रमा 'राष्ट्रिय सरकार गठनकालागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने' शब्द राख्न सकिने प्रस्ताव गरे । माओवादीले भने राजिनामा नै लेख्नुपर्ने अडान लियो ।
अन्ततः सहमतिपत्रमा 'राष्ट्रिय सरकार गठनकालागि उपयुक्त समयमा प्रधानमन्त्रीले राजीनामा दिने' वाक्यांशमा दुवै पक्ष मञ्जुर भए । यद्यपी, माओवादीले भने प्रधानमन्त्रीले राजीनामा दिने समयावधि नै तोक्नुपर्ने अडान राख्यो ।
बिस्तारै दलहरु आफ्ना अडानमा अझ लचिलो बन्दै आए । वार्तामा संलग्न एक नेताका अनुसार अन्तिम समयमा एमाले नेता केपी ओलीको उपस्थितिपछि वार्तामा निर्णायक सहमति बनेको हो । उनले पहिला कांग्रेस नेताहरुसित छलफल गरेपछि माओवादी अध्यक्ष प्रचण्डसित गोप्य छलफल गरेका थिए । त्यही छलफल निर्णयक बन्योउ । नेता ओलीले आफुले प्रस्ताव गरेको 'राष्ट्रिय सरकार गठनकालागि प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहने' शब्द सहमतिपत्रमा राख्न कांग्रेस र माओवादी नेताहरुलाई मनाउन सफल भए ।
कांग्रेस र माओवादी नेताहरुलाई मनाउन सफल भएपछि नेता ओली सवा एघार बजे संविधानसभा भवनबाट बाहिरिए । 'कुरा मिल्यो, अब संविधानसभाको म्याद थपिन्छ', बाहिरिने क्रममा मुसुमुसु हास्दै ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।

No comments: