News

May 24, 2010

दिलबहादुर हत्या छानबिनको परिणाम यसै महिना आउन सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/भूपेन्द्र
वहुचर्चित दिलबहादुर हत्या छानबिनको परिणाम यसै महिनाको अन्तिम सातासम्ममा आउन सक्ने बताइएकोछ । इस्टर्न कोर्टको १५ नम्वर अदालतमा गत वर्षको सेप्टेम्वरदेखि सुनुवाइ जारी रहेको मृत्यु छानबिन मुद्दामा सम्वन्धित सबै साक्षीहरुलाई बयान लिने काम सकिसकेको छ । त्यस्तै पक्ष तथा विपक्षका अधिवक्ताहरुको अन्तिम भनाइ जूरीहरु अगाडि राख्ने काम पनि गत मंगलबार समाप्त भएको छ ।सोमवार मे २४ तारिख सोमवार सम्मलाई सुनुवाइ स्थगित गरिएको छ । आगामी सोमवारको सुनुवाइ यस मुद्दाको लागि अन्तिम तथा सबैभन्दा महत्वपूर्ण हुनेछ । किनभने मृत्यु छानबिन सुनुवाइ गरिरहेको कोरोनर विलियम विङ सिङवाईले त्यसदिन जुरीहरुलाई कुन कुरामा फैसला गर्ने भनेर निर्देशन दिनेछन् । उनले निर्देशन दिएको परिधिमा बाहेक बाहिर गएर जूरीहरुले मुद्दाको फैसला गर्न पाउने छैनन् । जूरीहरु रहे तापनि मुद्दा हराउने वा जिताउने जूरीहरुको हातमा नभई कोरोनरको हातमा रहन्छ । आगामी सोमबार विहान र मंगलबार विहान दुर्इ दिनसम्म कोरोनरले जूरीहरुलाई निर्देशन दिने कार्यक्रम रहेकोछ । यो सुनुवाइ सर्वसाधारणको लागि पनि खुल्ला गरिएकोले जो केाही पनि अदालतमा प्रवेश गर्न सक्नेछन् । जूरीलाई निर्देशन दिने काम मंगलबार विहान सकिएपछि सम्भवतः वुधबार २६ मेका दिन जूरीहरुले फैसला सुनाउनेछन् ।जूरीहरुले कोरोनरबाट निर्देशन पाइसकेपछि उनीहरुले कुनै व्यक्तिहरुसँग सम्पर्क गर्न पाउँदैनन् । उनीहरुले फैसला नसुनाएसम्म छुट्टै कोठामा राखिन्छ ।मुद्दा शुरु हुने वखत यस मुद्दामा ३ वटा विकल्पहरु रहेको कुरा कोरोनरले बताएका थिए । ती विकल्पहरु हुन्-
१) हत्या कानूनसम्मत
२) हत्या गैरकानूनी
३) थाहा छैन ।
अदालतमा मुद्दा सुनिरहेका कोरोनरले ती ३ वटै विकल्पहरु जूरीको सामुन्ने राख्ने आशय व्यक्त गरिसकेकाछन् । जूरीहरुले यी तीनै विकल्पहरुमध्ये वहुमतले एक विकल्पलाई छान्नु पर्नेछ । यसो भए तापनि कसरी केको आधारमा निर्णय गर्ने निर्देशन दिन्छन्, त्यो जान्नलाई सोमबारसम्म पर्खनै पर्ने हुन्छ ।स्मरण रहोस्, केही हप्ताअगाडि क्यारिटास अस्पतालको अगाडि ढलेर मृत्यु भएका एक व्यक्तिको मृत्यु स्वभाविक मृत्यु देखाई अस्पतालको दायित्व नभएको फैसला सुनाउन कोरोनरले जूरीहरुलाई वाध्यता बनायो । त्यस्तै अर्को मुद्दामा अस्पतालका डाक्टरले रगतको क्यान्सर रोगीलाई गलत र्सुइ लगाएर मृत्युको मुखमा पारेका थिए । यस मुद्दामा पनि दुर्भाग्यपूर्ण मृत्यु भन्दै अस्पताललाई दायित्वबाट पन्छाउने प्रयत्न गरिएको थियो ।दिलबहादुरको मुद्दा पनि यसो नहोला भन्न सकिन्न । यदि यस्तो अवस्था आएमा के गर्ने र फैसलालाई कसरी लिने भन्ने विषयमा महासंघ र यहाँका स्थानीय सामाजिक कार्यकताहरुबीच छलफल भइरहेको छ ।यो मुद्दा केवल मृत्यु छानबिन गर्ने मुद्दा मात्र भएकोले यो मुद्दा हारे पनि जिते पनि सरकारसँग क्षतिपूर्ति वा लेनदेनको कारोवार हुनेछैन । यदि क्षतिपूर्तिको विषयमा जाने हो भने देवानी अदालत छुट्टै मुद्दा दायर गर्नुर्पने हुन्छ ।मृत्यु छानबिन मुद्दाको फैसला नै कस्तो हुने हो – पुनरावेदन गर्ने हो वा उच्च अदालतमा लग्ने भन्ने कुरा अनिश्चित रहेको अवस्थामा क्षतिपूर्तिको मुद्दा कहिले र कसरी शुरु हुन्छ भन्ने कुरा भविष्यको गर्भमै रहेको छ ।दिलबहादुर लिम्बूको हत्या भइसकेपछि उनका श्रीमती र नेपालमै जन्मेकी छोरीको हङकङ परिचयपत्रबारे के हुने भन्ने विषय हङकङको शीर्ष चर्चामा रहेको छ । यस सम्वन्धमा यहाँको विज्ञहरुसँग वुझ्दा हाल विद्यमान कानूनले श्रीमती तथा छोरी दुबैले हङकङको परिचयपत्र पाउने व्यवस्था नभएको भनेकाछन् । यस सम्वन्धमा एक्युट कन्सल्टेन्सीका सिनियर कन्सल्टेन्ट उत्तरमान लिम्बूले भन्छन् ” १९९७ जुलाई १ भन्दा पछाडि जन्मेका यहाँको स्थायी बासिन्दाका छोराछोरीहरुले स्थायी हङकङ परिचयपत्र पाउने व्यवस्था कानूनले गरेको छैन । उनीहरुलाई केवल डिपेन्डेन्ट भीसा मात्र पाउँछन् । ” दिलबहादुरकी छोरी तान्छोप्मा लिम्बू २००४को जनवरीमा जन्मेकी हुन् । दिलबहादुर लिम्बूको पत्नी सोनी र्राई र छोरी तान्छोप्मालाई डिपेन्डेन्ट गर्ने दिलबहादुर नै नरहेको अवस्थामा उनीहरुले परिचयपत्र पाउने सक्ने हङकङ कानूनमा प्रावधान नरहेको कुरा लिम्वूको राय रहेको थियो । उनकै भनाइमा यदि सरकारले दिलबहादुर लिम्बूकी छोरीमाथि उदारता अपनाउने हो भने विद्यार्थी भीसा दिन सक्ने प्रावधान अझै खुल्ला छ । छोरीले विद्यार्थी भीसा पाए भने आमा पनि अभिवावकको रुपमा बस्न पाउँछिन् । आमाछोरी ७ वर्ष बसेभने हङकङ स्थायी परिचयपत्र आबेदन गर्न हङकङ कानूनले रोक लाउने छैन ।यसबाहेक सरकारले चाहेमा जुनसुकै देशको व्यक्तिलाई बसोबासको दिन सक्ने अधिकार पनि छ ।

No comments: