News

Sep 30, 2011

सेनामा मधेसी सहभागिताको प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १३ - रक्षा मन्त्रालयले नेपाली सेनामा मधेसी समुदायको सहभागिता प्रक्रिया अघि बढाएको छ । रक्षा निर्देशक समितिको बिहीबारको बैठकमा रक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यक सुझाव दिन र तयारी अगाडि बढाउन सैनिक मुख्यालयलाई निर्देशन दिएका छन् । रक्षामन्त्रीको संयोजकत्वको समितिमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ र सचिव नवीन घिमिरे सदस्य छन् । रक्षामन्त्री भण्डारीले सरकार निर्माणताका माओवादी र मधेसी मोर्चासँग भएको चारबुँदे सहमति र सरकारद्वारा भदौ २३ मा प्रस्तुत राहत कार्यक्रममा समावेश भएअनुसार नेपाली सेनालाई समावेशीस्वरूप दिन मधेसी समुदायको समावेशीकरणको प्रक्रिया थालनी गरिएको बताए । यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले सेनाको लोकतान्त्रीकरणसम्बन्धी प्रस्तावलाई चारबुँदे सहमतिअनुरूप समावेशी बनाउन परिमार्जन गर्ने निर्णय गरेको छ । 'पूर्वसहमतिअनुरूप नेपाली सेनाप्रति मधेसी समुदायको अपनत्व बढाउन र सेनालाई समावेशी चरित्रको बनाउने हाम्रो सोच हो,' रक्षामन्त्री भण्डारीले भने, 'यो विषयलाई कुन विधिबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल थालिएको छ । सोहीअनुरूप प्रक्रिया अगाडि बढाइनेछ ।'
समितिको बैठकमा प्रधानसेनापति छत्रमानसिंह गुरुङले सरकारले आवश्यक नीति बनाए मधेसी सहभागिताका लागि प्रक्रिया अघि बढाउने बताएको स्रोतले जनायो । 'सरकारले आवश्यक नीति बनाएर निर्देशन दिए सोको कार्यान्वयन गर्न सेना तयार छ,' प्रधानसेनापतिको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । प्रधानसेनापति गुरुङले सेनाले समावेशीकरणको सिद्धान्तअनुरूप भर्ना लिइरहेको जानकारी दिएका थिए । सेनाले ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशीबाट भर्ना लिँदै आएको छ । समावेशीतर्फको ४५ प्रतिशतलाई शतप्रतिशत मानी त्यसमा मधेसीलाई २८, जनजातिलाई ३२, महिलालाई २०, दलितलाई १५ र पिछडिएको वर्गलाई ५ प्रतिशत आरक्षण
दिँदै आएको छ ।
रक्षामन्त्रीले भने एकपटकलाई विशेष व्यवस्था गरी मधेसी समुदायको मात्र भर्ना गर्ने सोच बनाएको स्रोतले बतायो । सेनामा कार्यरत दरबन्दी ९२ हजार सात सय ५३ छ । शाहीकालमा तत्कालीन सरकारले थप तीन हजार दरबन्दी स्वीकृत गरी सेनाको दरबन्दी ९५ हजार सात सय ५३ पुर्‍याए पनि लोकतन्त्र स्थापनासँगै बनेको सरकारले अर्थबाट रकम निकासा नदिएकाले थपिएको दरबन्दीमा सेनाले भर्ना लिन सकेको छैन ।
'पहिले स्वीकृत भइसकेको त्यही तीन हजार जनशक्तिका लागि अर्थबाट रकम निकासा गरेर मधेसी समुदायको भर्ना लिने सोचअनुरूप प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ,' स्रोतले भन्यो । मगर बाहुल्य पुरानो गोरख, गुरुङ बाहुल्य कालीबहादुर, राई बाहुल्य रिपुमर्दन र मधेसी बाहुल्य नयाँ सबुज गण छन् । मधेसीको थप सहभागिताका लागि स्वीकृत दरबन्दीभित्रै सेनाका केही इकाईको पुनर्संरचना गरी मधेसलाई प्रतिनिधित्व गर्ने नाम दिएर नयाँ गण स्थापना गर्ने तयारी भइरहेको छ ।
'अहिले सेनाका सबै क्षेत्रीय पृतनामा तीन र सुदूरपश्चिम पृतनामा दुई मात्र बाहिनी छन् । कतिपय बाहिनीअन्तर्गत गणको संख्या एक/दुई दरले घटी बढी छन्,' रक्षामन्त्रीनिकट स्रोतले भन्यो, 'तिनमा समानता कायम गर्दै स्वीकृत दरबन्दीभित्रैबाट एउटा बाहिनी वा गणलाई मधेसको नाम दिन सकिन्छ ।' सेनाका अधिकांश इकाई भगवान्का नाममा स्थापना भएकाले नयाँ गणलाई मधेसलाई पनि प्रतिनिधित्व गर्ने गरी 'रामजानकी,' 'राजषिर् जनक' जस्ता नाममा नामाकरण गर्ने सोच रहेको स्रोतले बतायो ।

No comments: