News

Sep 27, 2011

मन्त्रीहरु भण्डारी र साहलाई बर्खास्त गर्न एमालेको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १० - एमालेले रक्षा मन्त्री शरदसिंह भण्डारी र भूमी सुधार तथा ब्यवस्था मन्त्री प्रभु साहलाई बर्खास्त गर्न माग गरेको छ । भण्डारीलाई मधेसको २२ जिल्ला नेपालबाट अलग हुन सक्ने अभिब्यक्ति दिएको र साहलाई विश्व हिन्दू महासंघका बीरगंज अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न भएको भन्दै बर्खास्तगीको माग गरेको हो । मंगलबार कार्यबाहक अध्यक्ष बामदेव गौतमले जारी गरेको बिज्ञप्तिमा सोमबार भण्डारीले दिएको अभिब्यक्ति राष्ट्रहित विपरित र गैरजिम्मेवार रहेको उल्लेख गरिएको छ । उनले काँग्रेस, एमाले र माओवादीका उपाध्यक्ष बैद्य पक्षले माओवादी र मधेसी मोर्चाबीच भएको सहमतिलाई राष्ट्रघाती भनेकोमा प्रतिवाद गर्दै ‘मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुनसक्ने’ र ‘२२ जिल्लाले छुट्टिने निर्णय गरे कुन ऐन र कानूनले मुलुक बचाउँछ ?’ भन्ने प्रश्न गरेका थिए । उक्त अभिव्यक्तिलाई एमालेले गैरजिम्मेवारीको पराकाष्ठा भनेको छ । ‘सामान्य व्यक्तिले समेत बोल्न नमिल्ने र नसक्ने राष्ट्रिय हित, एकता र अखण्डताविरोधी रक्षामन्त्रीको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन’ बिज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टी यस प्रकारको राष्ट्रिय हितमा आघात पु¥याउने र साम्प्रदायिक विद्वेष फैलाउने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ ।’
त्यसैगरी एमालेको बिज्ञप्तिमा भूमिसुधार तथा व्यवस्था मन्त्री साह वीरगंजमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा मतियार रहेको र उनका स्वकीय सचिव सियाराम कुशवाह उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको उल्लेख गरिएको छ । यसरी नागरिक हत्याको अभियोगमा मुछिएका व्यक्तिलाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसक्दा पनि हटाएर छानवीन र कारवाही प्रक्रियालाई सहयोग पु¥याउने अग्रसरता नलिइनुले गंभीर प्रश्नचिन्ह खडा गरेको छ’ एमालेको बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी प्रधानमन्त्रीसमक्ष मन्त्री साहलाई बर्खास्त गरी प्रहरीसमक्ष बुझाउन जोडदार माग गर्दछ ।’
एमालेले सोमबार दिउँसो नेपाली जामे मस्जिदमा प्रार्थना सकेर फर्किरहेका इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको गोली प्रहारबाट भएको हत्याको पनि भत्र्सना गरेको छ । घटनाले राजधानीको बिग्रँदो सुरक्षा स्थितिलाई मात्र देखाएको छैन, सरकारको कमजोर सुरक्षा सतर्कता र प्रबन्धसमेत प्रष्ट गरेको छ’ एमालेले भनेको छ, ‘हाम्रो पार्टी यस घटनाको तदारुकताका साथ अनुसन्धान गरी दोषीहरु पत्ता लगाई कडा कारबाही गर्न तथा पीडित परिवारजनलाई राहत एवम् क्षतिपूर्ति उपलब्ध गराउन र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गर्दछ ।’

No comments: