News

Sep 24, 2011

सरकारका सबै सेवा एउटै साइटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ७ - नागरिकता, लाइसेन्स प्राप्त गर्न होस् वा अन्य सरकारी सेवा लिन लामो प्रक्रियाले प्रायः सबैलाई थकाएकै छ । सानो काम गर्न आवश्यक पर्ने फारम लिन पनि लामो समय र निकै खर्च गरेर कार्यालय धाउनुको विकल्प छैन । तर नयाँ सरकारले कम्तीमा सरकारी सेवा पाउने स्थान, लाग्ने समय, पुर्‍याउनुपर्ने कागजातको जानकारी मात्र होइन फारम डाउनलोड समेत एउटै वेबसाइटबाट उपलब्ध गराउने भएको छ । सरकारको आधिकारिक साइट डब्लूडब्लूडब्लू डट नेपालगभ डट जीओभी डट एनपीलाई परिष्कृत गरी यो सेवा दिने प्रक्रिया सुरु भएको छ । यसमा सरकारले आफूअन्तर्गतका सबै निकायको लिंक र त्यहाँ हुने कामबारे जानकारी सँगै फारम डाउनलोड सुविधा राख्ने उच्चस्तरीय सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टराईले बताए । 'यसबाट सरकारी निकाय र उनीहरूको सेवाबारे एकै ठाउँबाट जानकारी पाउनेछन्,' उनले भने । ई-गर्भनेन्स गुरु योजनाअन्तर्गत काम सुरु भएको हो । 'लाइसेन्स, नागरिकताका लागि आवश्यक फारम डाउनलोड गरेर त्यही भरेर कार्यालयमा गई काम गर्न सकिन्छ,' उनले भने, 'सम्भव भएसम्म फारम भरेर अनलाइनबाट पठाउने व्यवस्था मिलाउने तयारी पनि भइरहेको छ ।'
विवाह दर्ता, जन्म दर्ता, पासपोर्टलगायत सरकारी कामका लागि कुन प्रक्रिया र कहाँबाट हुने जानकारी साइटमा हुनेछ । 'सरकारी काममा कति शुल्क लाग्छ र कति समयमा काम सकिन्छ भन्ने जानकारी पनि राखिनेछ,' उनले भने, 'नागरिकले सहज रूपमा सरकारी सेवा र जानकारी पाउन भनेर यो साइट निर्माणको काम सुरु गरिएको हो ।'इन्टरनेट प्रयोगकर्ताको संख्या लगातार बढिरहेको अवस्थामा यसले नागरिकको समय र पैसा कम खर्च गर्ने छ । सरकारी कामलाई पारदर्शी बनाउन पनि यसले सघाउ पुग्ने भट्टराईले बताए ।

No comments: