News

Sep 23, 2011

विमानस्थलमा बढी तौल देखाएर ठगी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठगिएको तथ्य सार्वजनिक भएको छ । आन्तरिक उडान कक्षका तौल नाप्ने मेसिन दुरुस्त नभएको पाइएको छ । वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नापतौल विभाग र उपभोक्ता कर्मीले अनुगमन गर्दा आन्तरिक उडान कक्षका तौल नाप्ने १२ मेसिनमध्ये आठवटाले वास्तविकभन्दा बढी तौल देखाएको पाइएको छ । यती, तारा, अग्नि, बुद्धलगायतका एअरलाइन्सले आन्तरिक उडानमा बढी तौल देखाएर यात्रुलाई ठग्दै आएको देखिएको छ । यती र अग्निका लगेजको तौल नाप्ने मेसिनले वास्तविक भन्दा दुई किलो तौल बढी देखाउने गरेको पाइएको छ । अग्निका कर्मचारीहरुले अनुगमन टोली आएको थाहा पाएपछि वास्तविकभन्दा बढी तौल देखाउने मेसिनमा बिग्रिएको भन्दै हस्तलिखित सुचना टाँसेका थिए । त्यस्तै बुद्ध एअरका दुईवटा मेसिनमध्ये एक बिग्रिएको र चालु अवस्थामा रहेकाले बढी तौल देखाएको थियो । नेपाल वायुसेवा निगम र गुण एअरलाइन्सका तौल नाप्ने मेसिन भने सही रहेको पाइयो । यसै गरी अन्तर्राष्ट्रिय उडानतिरका कर्मचारीले तौलने मेसिनको एउटा छेउमा खुट्टा राखेर बढि तौल देखाएर यात्रुबाट पैसा असुल्ने गरेको पाइएको छ । वास्तविक तौलभन्दा बढी देखाएर पैसा असुल्न उनीहरुले मेसिनको एक छेउमा यात्रुले थाहा नपाउने गरी खुट्टा राख्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले नै अनुगमन टोलीलाई बताए । कर्मचारीले खुट्टा राखेर गडबडी नगरेमा त्यस कक्षमा रहेका १६ वटै मेसिनले ठीक तौल देखाउने गरेको पाइयो ।

No comments: